• २०८३ कार्तिक १७, सोमबार
  • 2026 November 02, Monday

तरकारी खेती छोडेर फूलखेतीमा बागलुङका थापा

बागलुङ । सुरुका वर्षमा प्लास्टिक टनेलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएकी बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापा पछिल्लो तीन वर्षदेखि फूलखेतीमा आकर्षित हुनुभएको छ ।

तरकारी खेतीमा विषादीको प्रयोग बढी गर्नुपर्ने र नजिकै रहेको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा फूलको माग बढ्दै गएपछि उहाँले तरकारी खेती छाडेर फूलखेती सुरु गर्नुभएको हो । भाडामा लिएको दुई रोपनी जग्गामा तीनवटा प्लास्टिक टनेल निर्माण गरी उहाँले मौसमी तथा बेमौसमी फूल उत्पादन गर्दै आउनुभएको छ ।

“लामो समयदेखि तरकारी खेती गर्दै आएकी थिएँ । तरकारीमा विषादी बढी प्रयोग गर्नुपर्ने भएकाले फूलखेतीमा लागेकी हुँ । तीन वर्ष भयो, फूलखेतीबाट घरखर्च राम्रै चलेको छ”, थापाले भन्नुभयो, “वार्षिक रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म आम्दानी हुन्छ । बजारमा बाहिरबाट फूल नआउँदा राम्रो बिक्री हुन्छ, नत्र कहिलेकाहीँ बोटमै कुहिने अवस्था पनि आउँछ ।”

उहाँका अनुसार बेमौसममा उत्पादित फूल प्रतिकिलो रु चार सयसम्म र मौसमी फूल प्रतिकिलो रु दुई सयसम्म बिक्री हुने गरेको छ । प्लास्टिक टनेलभित्र खेती गर्दा बेमौसममा समेत फूल उत्पादन गर्न सकिने उहाँको अनुभव छ ।

बागलुङमा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या कम रहेकाले उत्पादित फूलको बजार खोज्न समस्या नभएको थापाको भनाइ छ । उहाँले टनेलमा उत्पादन गरेको सयपत्री फूल नजिकै रहेको बागलुङ कालिका मन्दिरमा आउने भक्तजनलाई बिक्री गर्दै आउनुभएको छ ।

अहिले उहाँ तिहारलाई लक्षित गरी सयपत्री फूल बिक्री गर्ने तयारीमा हुनुहुन्छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि मन्दिरमा आउने भक्तजनलाई समेत सहज भएको छ । तरकारी खेतीबाट फूलखेतीमा लाग्नुभएकी थापाका लागि फूलखेती अहिले आम्दानीको भरपर्दो माध्यम बनेको छ ।