बागलुङ | दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक सडक चार वर्षमा बल्ल ८० प्रतिश प्रगति भएको छ ।
हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा कालोपत्रको चरणमा पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माण व्यवसायीले चार वर्षपछि कालोपत्रका लागि बेस बिच्छाउने काम गरिरहेको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरी सुवेदीले जानकारी दिनुभयो ।
एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडक समयमै काम नसक्दा स्थानीय धुलाम्मे सडकमा हिड्न बाध्य भएकोमा अहिले निरन्तरको खबरदारी र जनगुनासोका बीच कामले तिब्रता पाएको गलकोट नगरपालिका–७ मल्मका वडा अध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो ।
२०८१ सालको भदौमा सम्पन्न गरी हस्तान्तरण भइसक्नुपर्ने आठ किमि सडक कालोपत्रका लागि दुई पटक ठेक्का सम्झौता थप गर्दा बल्ल ८० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । दोस्रो पटक थप गरेको म्याद मंसिरमा सकिनै लागेकाले समयमै काम सक्नेमा अझै आशंका रहेको छ । सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर सागर भण्डारीेका अनुसार समयमै काम नसक्दा दोस्रो पटक म्याद थप गरेर निरन्तर ताकेता गरेपछि कालोपत्र गर्नेगरी ठेकेदार काममा आएको हो । अहिले बेस हाल्ने तथा सम्माउने काम भइरहेको छ ।
सडक निर्माणको जिम्मा वल्र्डवाइड÷लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो । स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायी विरुद्ध आन्दोलन समेत गरेका थिए । २०७९ भदौमा रु. २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।