• २०८३ मंसिर ८, सोमबार
  • 2026 November 23, Monday

भारत भ्रमणको उपलब्धि :नेपालले खोजेको समृद्धिको ढोका खुल्नुपर्छ

  • २०८३ मंसिर ८, सोमबार

सम्पादकीय। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई नेपालले केवल कूटनीतिक औपचारिकताका रूपमा सीमित गर्नु हुँदैन । दुई देशका प्रधानमन्त्रीबीच हुने भेटवार्ता, समझदारी र सहकार्यका विषयले नेपालको आर्थिक विकास, पूर्वाधार निर्माण, व्यापार, पर्यटन र रोजगारी सिर्जनामा कस्तो योगदान पु¥याउँछन् भन्ने आधारमा भ्रमणको सफलता मापन हुनुपर्छ । प्रधानमन्त्री बनेपछि पहिलो औपचारिक विदेश भ्रमणका रूपमा भारत पुगेका बालेनका लागि यो भ्रमण छिमेकीसँगको सम्बन्ध सुधार्ने मात्र होइन, राष्ट्रिय हित स्थापित गर्ने महत्त्वपूर्ण अवसर पनि हो। ‘विकसित भारत र समुन्नत नेपाल ः साझेदारीको पुनर्कल्पना’ नाम दिइएको प्रस्तावित १० बुँदे सहकार्यले नेपालका लागि केही सकारात्मक सम्भावना देखाएको छ । आर्थिक तथा विकास साझेदारी, भौतिक र डिजिटल सम्पर्क, ऊर्जा, सुशासन, प्रविधि, शिक्षा, खेलकुद, पर्यटन, स्वास्थ्य र कृषिलाई समेटिएका यी विषय कार्यान्वयनमा गए भने नेपालको विकास यात्रामा महत्वपूर्ण सहयोग पुग्न सक्छ । तर सम्झौतामा विषय समेटिनु र त्यसको प्रत्यक्ष लाभ नेपाली जनताले पाउनु फरक कुरा हुन् । त्यसैले भ्रमणको वास्तविक सफलता सहमतिको संख्यामा होइन, कार्यान्वयनको परिणाममा निर्भर हुनेछ ।

नेपालका लागि सबैभन्दा महत्वपूर्ण विषय आर्थिक साझेदारी र पूर्वाधार विकास हो । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भए पनि व्यापार घाटा निरन्तर बढिरहेको छ । नेपाली उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउन सकेका छैनन् । यस्तो अवस्थामा निर्यातमुखी उद्योग, विशेष आर्थिक क्षेत्र, औद्योगिक पार्क र भारतीय लगानी भित्र्याउने सहमति नेपालका लागि अवसर बन्न सक्छ । तर लगानीका नाममा नेपाली बजार विस्तार गर्नेभन्दा नेपालमै उत्पादन, रोजगारी र निर्यात वृद्धि गर्ने वातावरण निर्माण हुनुपर्छ । ऊर्जा र जलस्रोत नेपालको अर्को ठूलो सम्भावना हो । जलविद्युत् उत्पादन र व्यापार विस्तारसँगै पञ्चेश्वर तथा सप्तकोशी–सुनकोशी जस्ता बहुउद्देश्यीय परियोजना अघि बढाउन सके दुवै देशलाई लाभ पुग्नेछ । बाढी नियन्त्रण, सिँचाइ र जलविद्युत् उत्पादनमा सहकार्यले सीमावर्ती क्षेत्रका नागरिकको जीवनमा समेत सकारात्मक परिवर्तन ल्याउन सक्छ । तर विगतका सहमति वर्षौंसम्म अलपत्र रहने प्रवृत्तिको अन्त्य आवश्यक छ । त्यस्तै, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि थप हवाई प्रवेश मार्गको विषय नेपालको प्राथमिकतामा रहनुपर्छ । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्दा लुम्बिनी र आसपासको पर्यटन तथा व्यवसायमा गरिएको ठूलो लगानीले अपेक्षित प्रतिफल दिन सकेको छैन । महेन्द्रनगर, भैरहवा र जनकपुरबाट सहज हवाई प्रवेश मार्ग उपलब्ध भएमा पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय सम्पर्क विस्तारमा नयाँ सम्भावना खुल्नेछ । यस विषयमा सहमति जुट्नु नेपालका लागि तत्काल देखिने उपलब्धि हुन सक्छ ।

तर प्रस्तावित १० बुँदे एजेण्डामा सीमा विवादको विषय समावेश नहुनु र एयर रुटको विषयले पनि स्पष्ट निष्कर्ष नपाउनु भने गम्भीर चासोको विषय हो । कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका सीमा समस्या नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषय हुन् । आर्थिक विकासका नाममा राष्ट्रिय हित र सीमा समस्यालाई ओझेलमा पार्न मिल्दैन । मित्रता र सहकार्यको आधार समानता, पारस्परिक सम्मान र विश्वास हुनुपर्छ । प्रधानमन्त्री बालेनले विगतका सरकारहरूको जस्तो सम्झौता गर्ने तर कार्यान्वयनमा ध्यान नदिने प्रवृत्तिबाट आफूलाई अलग प्रमाणित गर्नुपर्नेछ । त्यसका लागि सहमति कार्यान्वयनको अनुगमन संयन्त्र, समयसीमा र जिम्मेवार निकाय स्पष्ट हुनुपर्छ । प्रत्येक छ महिनामा प्रगति समीक्षा गर्ने प्रस्तावलाई प्रभावकारी बनाउन सकियो भने त्यसले परिणाममुखी कूटनीतिको आधार तयार गर्न सक्छ । भारतसँगको सम्बन्ध नेपालको भौगोलिक, आर्थिक र सामाजिक यथार्थसँग जोडिएको छ । त्यसैले न अनावश्यक उत्तेजना, न आत्मसमर्पण; नेपालको हितलाई केन्द्रमा राखेर सन्तुलित सम्बन्ध अघि बढाउनु आजको आवश्यकता हो । प्रधानमन्त्रीको भारत भ्रमण नेपालका लागि सुखद त्यतिबेला मात्र हुनेछ, जब दिल्लीमा भएका सहमतिले नेपालमा उद्योग खुल्ने, रोजगारी सिर्जना हुने, विमानस्थल सञ्चालन हुने, विद्युत् निर्यात बढ्ने र जनताको जीवनस्तरमा सुधार आउनेछ । कूटनीतिक सफलताको वास्तविक परीक्षा दिल्लीको स्वागत र संयुक्त वक्तव्यमा होइन, नेपाल फर्किएपछि देखिने विकास र समृद्धिमा हुनेछ ।

  • २०८३ मंसिर ८, सोमबार