• २०८३ मंसिर ९, मंगलवार
  • 2026 November 24, Tuesday

राससकर्मी थापालाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार

  • २०८३ मंसिर ९, मंगलवार

बागलुङ । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत राम थापालाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार गरिने भएको छ ।  युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार–२०८२ बाट नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष समेत रहनुभएका पत्रकार थापालाई सम्मान तथा पुरस्कार गरिने भएको छ ।

पुरस्कारको राशि नगद रु.३३ हजार ३३३ र ताम्रपत्र छ । बागलुङको गलकोट नगरपालिका–७, मल्म स्थायी निवासी थापा राष्ट्रिय समाचार समितिको पोखरामा कार्यरत हुनुहुन्छ । दुई दशकअघि बागलुङ एफएमबाट पत्रकारिता शुरु गर्नुभएको थापा बागलुङहुँदै पोखरा पुगेर पत्रकारिता गर्दै आउनुभएको छ । थापाले पत्रकारितामा सक्रियतासँगै स्वास्थ्य क्षेत्रका गतिविधि र समस्यालाई समेत उजागर गरेकाले पुरस्कृत गर्ने निर्णय भएको प्रतिभा छनोट समिति संयोजक केशवशरण लामिछानेले बताउनुभयो ।

छनोट समितिमा पत्रकारद्वय फडिन्द्र अकिञ्चन र ऋषि खतिवडा, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला थिए । १३ वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले युआरएल फाउन्डेसनलाई प्रवद्र्धन गरेको छ । फाउन्डेसनको यो पुरस्कारबाट हालसम्म जमुना वर्षा शर्मा, दीपेन्द्र श्रेष्ठ, आरजू विष्ट ‘सल्यानी’, हरि बास्तोला, प्रदीप पौडेल, सुरेन्द्र पौडेल, यदुनाथ बञ्जारा र ऋषि खतिवडा सम्मानित भइसकेका छन् ।

फाउन्डेसनले प्रदान गर्दै आएको लाइफ टाइम एचिभमेन्ट अवार्ड भने यो वर्ष स्थगन गरिएको छ । युआरएलका अध्यक्ष पन्तले युआरएलको यही मंसिर २३ गते हुने वार्षिकोत्सव समारोहमा पुरस्कार अर्पण गरिने छ ।

  • २०८३ मंसिर ९, मंगलवार