म्याग्दी । बेनी नगरपालिका–५,पुलाचौरस्थित जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत पवन छिनालको हातमा कर्नाल छ । कक्षा ७ का अप्सन छिनाल र मानबहादुर नेपाली दमाहाको ताल मिलाउँछन् । कक्षा ८ का समीर छिनाल ढोलकी बजाउँछन् भने कक्षा ९ का साहिल नेपाली र दिप्सन नेपाली सनाईको धुन निकाल्छन् ।
त्यस्तै, सोनम छिनाल झ्याली र पुरन छिनाल ट्याम्को बजाउँछन् । किताब र कापीसँगै पञ्चेबाजाका बाजा समातेका जनकल्याणका विद्यार्थी पढाइसँगै पुख्र्यौली कला, संस्कृति र परम्परा जोगाउने अभ्यासमा रमाइरहेका छन् । प्रशिक्षक प्रविण छिनालको सक्रियता र विद्यालयको सहयोगमा विद्यार्थीमार्फत पुख्र्यौली सीप हस्तान्तरणसँगै पञ्चेबाजा संरक्षणको प्रयास भइरहेको छ ।
आधुनिक गीतसङ्गीत र प्रविधिप्रति नयाँ पुस्ताको आकर्षण बढिरहेका बेला जनकल्याणका विद्यार्थीले परम्परागत पञ्चेबाजा बजाउन सिकेर मौलिक संस्कृतिको संरक्षणमा रुचि देखाएपछि विद्यालयले समेत विभिन्न कार्यक्रममा उनीहरूलाई अवसर दिँदै आएको प्रधानाध्यापक गजिन्द्र श्रेष्ठले बताए । ‘सीप हस्तान्तरणका लागि सरोकारवाला निकायको साथ आवश्यक छ । अहिले स्थानीयस्तरबाट प्राप्त सहयोगले विद्यार्थीहरू पञ्चेबाजा बजाउन सक्ने भएका छन्,’ प्रधानाध्यापक श्रेष्ठले भने । विद्यार्थीहरूले विद्यालयका विभिन्न कार्यक्रम, सांस्कृतिक समारोह तथा सामाजिक गतिविधिमा पञ्चेबाजा बजाएर आफ्नो कला प्रस्तुत गर्दै आएका उनले बताए ।
सामूहिक रूपमा बाजाको ताल र धुन मिलाउन प्रशिक्षक छिनालले पुरुन्ने गाउँमा दैनिक दुई घण्टा अभ्यास गराउँदै आउनुभएको छ । मौलिक पहिचानसँग जोडिएको र आफ्ना बुबा–बाजेले बजाउँदै आएको पञ्चेबाजाको अभ्यासमा सक्रिय विद्यार्थीलाई सरकारी निकायबाट समेत प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । विद्यार्थीलाई विभिन्न प्रतियोगितामा सहभागी हुने अवसर सिर्जना गर्न पनि प्रशिक्षक छिनालले आग्रह गरेका छन् ।
गाउँघरका युवा रोजगारीका लागि विदेशिने र बुढापाकाले उमेरका कारण बाजा बजाउन नसक्ने अवस्था बढ्दै गएपछि विवाह, धार्मिक तथा सामाजिक समारोहमा पञ्चेबाजा बजाउने जनशक्तिको अभाव हुन थालेको प्रशिक्षक छिनालले बताए । यही अवस्थालाई मध्यनजर गर्दै नयाँ पुस्तालाई पञ्चेबाजा बजाउने सीप सिकाउन प्रशिक्षण सुरु गरिएको उनले बताए । विद्यार्थीको पढाइमा असर नपर्ने गरी उनीहरू पुलाचौरसहित आसपासका क्षेत्रमा विवाह तथा शुभकार्यमा पञ्चेबाजा बजाउन जाने गरेका छन् । यसले विद्यार्थीलाई सिकेको सीप व्यवहारमा उतार्ने अवसर दिनुका साथै समुदायमा पञ्चेबाजाको परम्परालाई निरन्तरता दिन सहयोग पुगेको छ ।
बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले स्थानीयस्तरमा रहेका कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकता दिइएको बताए । पाठ्यपुस्तकको ज्ञानसँगै पुख्र्यौली सीप र संस्कार सिक्ने जनकल्याण माविका विद्यार्थीको प्रयास प्रशंसनीय रहेको बानियाँको भनाई छ । पुर्खाले बजाउँदै आएको पञ्चेबाजाको धुन नयाँ पुस्ताका हातबाट गुञ्जिन थालेपछि पुलाचौरमा मौलिक संस्कृति संरक्षणको आशा पनि जागेको छ ।