• २०८३ मंसिर ११, बिहीबार
  • 2026 November 26, Thursday

५० लाख खर्चेर दारेगौडा–ढोडेनी धर्मपथ पैदलमार्ग निर्माण

  • २०८३ मंसिर ११, बिहीबार

बागलुङ । पवित्र कालीगण्डकीमा पुग्नका लागि रु. ५० लाख खर्चेर आकर्षक पदमार्ग निर्माण गरिएको छ । बागलुङ नगरपालिका–४ कुडुँलको दारेगौडा देखि कालीगण्डकीको ढोडेनी पुग्नका लागि झण्डै एक किमि पदमार्ग निर्माण गरिएको छ । रेलिङ सहितको पदमार्गले भीर तथा पहरोमा यात्रा गर्न सहज भएको छ ।

स्थानीयको चन्दा, बागलुङ नगरपालिका र गण्डकी प्रदेश सरकारको सयुक्त लगानीमा पदमार्ग निर्माण गरिएको हो । २०८२ साल माघ १९ गतेदेखि सुरु भएको धर्मपथ पैदलमार्ग निर्माण कार्य २०८३ सालको कात्तिक २२ गते सम्पन्न गरिएको पैदलमार्ग निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

४ वटा बिश्राम स्थल, तिनवटा पानी ट्याङ्की, भगवान शिवजीको मुर्ति प्रतिस्थापन लगायतका संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । पवित्र कालीगण्डकी नदी स्नान गर्नका लागि समेत पैदलमार्ग सहयोगी बन्ने छ ।

उहाँका अनुसार नगरपालिकाबाट रु.३ लाल, एकीकृत सेवा कार्यालय बागलुङबाट रु.५ लाख तथा बाँकी रकम स्थानीय जनसमुदाय र सहयोगदाताबाट जुटाएर कुल रु.५० लाख बराबरको निर्माण कार्य सम्पन्न गरिएको हो ।

पैदलमार्ग निर्माण भएपछि कुडुँले, छापावासीका साथै सीमा, लमगाउँ, ठूलास्वाँरा र रमेटार, क्षेत्रका स्थानीय लाभान्वित हुने समितिले जनाएको छ । विशेषगरी कृष्णगण्डकी नदीको तटीय क्षेत्रमा शव दाहसस्कारका लागि पु¥याउन, घाँसदाउरा गर्न जान, खेतीपाती गर्न तथा स्थानीयको दैनिक आवतजावतमा यस मार्गले सहजता ल्याउने आचार्यले जानकारी दिनुभयो ।

‘आफ्नो गाँउ आफै बनाउ’ भन्ने नाराका साथ गाउलेहरुले निर्माण गरिएको उहाँले बताउनुभयो । निर्माण अभियानले धार्मिक, सामाजिक तथा स्थानीय जनजीवनसँग जोडिएको पैदल मार्गलाई व्यवस्थित बनाउनुका साथै यात्रुहरूको सुविधामा समेत सहयोग पुग्ने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

पदमार्गको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो । उहाँले थोरै सरकारको लगानीमा धेरै स्थानीयको लगानीमा निर्माण भएको पदमार्गले अन्य विकास निर्माणमा समेत उदाहरण पेश गरेको बताउनुभयो ।

  • २०८३ मंसिर ११, बिहीबार