• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

आदर्शसञ्चार अनलाइन सातौँ वर्षमा

मन कुमारी केसी, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको सह–प्रकाशन आदर्शसञ्चार अनलाइन सातौैँ वर्ष प्रवेश गरेको छ ।

अनलाइनको छैठौ वार्षिकोत्सवको अवसरमा बागलुङ बजारमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा संस्थाका सम्पादक रामबहादुर जि.सी.ले विगत २ दशकदेखि सञ्चारक्षेत्रमा काम गर्दै आएको आदर्श सञ्चार सहकारीले सञ्चालन गरेका सञ्चार माध्यम समय अनुकुल परिष्कृत भएर पाठकमाझ आएको बताउनु भएको थियो ।

दैनिक र साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएको सहकारीले आमसञ्चारको दायरा फराकिलो भएसँगै स्थानीय स्तरबाटै अनलाइनलाई व्यवस्थित गरेर अगाडी बढाई रहेको बताउनु भएको थियो ।

सम्पादक जिसीले यस वर्ष आदर्शसञ्चार अनलाइनले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका पर्यटकीय स्थलहरुको सम्वद्र्धन र प्रवद्र्धनमा प्रचारप्रसार हुने गरी समाचार सामग्री तयार गर्ने गरि आदर्शका एक सय पर्यटकीय गन्तव्यको छनौट गरेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले शुभकामना व्यक्त गर्दै पत्रपत्रिकाको पहुँच नभएका स्थानसँगै स्वदेश तथा विश्वभर एकसाथ छोटो समयमै सूचना र समाचार प्रवाह गर्नको लागि अनलाईन सञ्चार माध्यमको अपरिहार्यता रहेको बताउनु भएको थियो ।
आदर्श सञ्चारले यो क्षेत्रको पत्रकारिता र समाज विकासका लागि महत्वपूर्ण योगदान गरेको भन्दै उहाँले सञ्चारमाध्यमलाई थप प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्था बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता र संवाददाता डम्मर बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।