बागलुङ । जेन जी युवाहरुले भोली भदौ २३ गते काठमाडौंमा गर्ने आन्दोलनमा आफ्ना भाइहरुलाई सहभागी हुन चर्चित गायक तथा अभिनेता प्रकाश सपुतले सल्लाह दिएका छन् ।
प्रकाशले केही बेर अघि सामाजिक सञ्जाल फेसबुकमा भाइहरु सुनिल (२५ वर्ष) र सचिन (२६ वर्ष) का नाममा सन्देश सार्वजनिक गर्दै भोलीको विरोध कार्यक्रममा सहभागी हुन आव्हान गरेका हुन ।
आँखामा प्रश्न लिएर समुहमा चुपचाप उभिनु पनि आन्दोलन हो, भोली हुने तिम्रो पुस्ताको नयाँ स्वरुपको आन्दोलन हेर्न म निकै उत्साहित छु, उनले लेखेका छन्, हाम्रो पुस्ताले पनि जीवनमा थुप्रै आन्दोलन गरेको थियो, अझ भनौ युद्ध नै भोग्यौ, त्यो आन्दोलनको नेतृत्व गरेकाहरुलाई खत्रै मान्यौ, व्यवस्था फेरेर तिनैलाई विश्वास गरेर पठायौ, गर्लान नि भन्ने आशा ग¥यौ, तर उनीहरुले आफ्नो योगदान भन्दा बढी फाइदा लिइ सके ।
प्रकाशले भाइहरुलाई आन्दोलनमा सहभागी हुनका लागि २५÷२५ हजार रुपैया खातामा पठाएको जानकारी पनि गराएका छन् । गत महिना युट्युवबाट कर काटेर आएको पैसा पठाएको छु, आन्दोलनमा सहभागी हुनेहरुलाई पानी किनेर वितरण गर्नु, उनले भाइहरुलाई आन्दोलनमा सहभागी हुन आव्हान गर्दै भनेका छन् ।
प्रकाशले जेन जी पुस्तालाई आन्दोलनमा नआत्तिन समेत आग्रह गरेका छन् । जनताको आन्दोलन र आवाज दवाउन सक्नेहरु एकै पटकमा गल्ने छैनन्, त्यसकारण तिनीहरुलाई बुझाउन र गलाउन पनि तिमीहरु संगै उभिनु पर्नेछ भन्दै उनले भाइहरुमार्फत सिंगो युवाहरुलाई आन्दोलनमा सरिक हुनका लागि आव्हान गरेका छन् ।
सरकारले सामाजिक सञ्जाल दर्ताको निहु बनाएर बन्द गराएपछि सामाजिक सञ्जालमा अभ्यस्त भइसकेका धेरै जनताले विरोध गरेका छन् ।
काठमाडौंको माइतीघरदेखी बानेश्वरको एभरेष्ट होटलसम्म जेन जी युवाहरुले मार्चपास गर्दैछन् । नेपाल सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय पारेपछि जेन जेड पुस्ताले आन्दोलनको घोषणा गरेका हुन ।
बिनासर्त सामाजिक सञ्जाल पुनः सक्रिय बनाइनु पर्ने, पुराना नेताहरुले प्रधानमन्त्री बन्दिन भन्ने प्रतिवद्धता व्यक्त गर्नु पर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दलका तर्फबाट नभई निष्पक्ष रुपमा आयुक्त नियुक्ती गर्नु पर्ने लगायतका माग अघि सारेर आन्दोलनको आव्हान भएको हो ।
आन्दोलनमा २८ वर्ष मुनीका युवाहरुलाई सहभागिताका लागि आयोजकले आव्हान गरेका छन् ।
प्रकाश सपुतले सामाजिक सञ्जालमा लेखेको सन्देश जस्ताको तस्तै ।
