• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

बागलुङमा गुञ्जिए युवा भजने !

बागलुङ । पछिल्लो केही साता यताका शनिबार साँझ बागलुङका मठमन्दिर युवाका भजनले गुञ्जिन थालेका छन् ।

कहिले प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर त कहिलेका शनिबार गौरीधाम शिव मन्दिरमा जोसिला युवाहरु मादल, खैजरी र मुजुराको तालमा भजन किर्तन गरिरहेका भेटिन्छन् । भजनमा नाच्नेहरु पनि उस्तै जोसिला युवा ।

आफुहरुलाई चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)का सदस्य बताउने उनिहरु धर्म, संस्कृती र परम्पराको संरक्षण र पर्वद्धन गर्नु युवाहरुको कर्तव्य भएको बताउछन् ।

मेन्स रुम रिलोडेड (एमआरआर)मा बागलुङमा १० जना युवामात्र सदस्य भएपनि उनिहरुको भजन किर्तन समुहमा भने युवाको संख्या उल्लेख्य देखिन्छ । विभिन्न पेशा व्यवसायमा आवद्ध रहेका युवाहरु शनिबार साँझ ५ बजेदेखि ७ बजेसम्म जम्मा भएर पछिल्लो ५ हप्तादेखि भजन किर्तन गरिरहेको समुहका सदस्य रोशन पौडेलले बताउनु भयो ।

बागलुङको जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मिसेराका २६ वर्षीय रोशन पौडेलसँगै, काठेखोला गाउँपालिका वडा नम्बर ८ का २७ वर्षीय कुशल कंडेल, सोही ठाउँका हिमाल कंडेल, बागलुङ नगरपालिका वडा नम्बर १४ का ओमकार सुवेदी, काठेखोला गाउँपालिका वडा नम्बर ६ का अर्जुन कंडेलसँगै अन्य युवाहरु पछिल्लो समय प्रत्येक शनिबार र चाडपर्वका अवसरमा मठमन्दिरमा भेला भएर भजन किर्तन गर्ने गरको बताउछन् ।

भजन समुहमा बैंक तथा वित्तिय संस्थामा काम गर्नेदेखि पेशा व्यवसाय गर्ने युवाहरु जोडिएका छन् ।

युवाका सरोकार, अफ्यारोमा परेकालाई सहयोग र रमाइला प्रसंगमा काम गर्दै आएका एमआरआरका सदस्यहरुले पछिल्लो समय देशका विभिन्न सहरहरुमा भजन भजन किर्तन गर्दै आएका छन् ।

पछिल्लो २८ महिनादेखि पोखरामा मेन्स रुम रिलोडेड (एमआरआर) सदस्यहरुले भजन किर्तन गर्दै आएको पौडेलले बताउनु भयो । काठमाडौँ, बुटवल, चितवन र बागलुङमा पछिल्लो ३ महिनायता भजन किर्तन गर्न सुरु गरेको उहाँको भनाई छ ।

व्यत्तिगत रुपमै बाद्यवादनका सामग्रीहरु मादल, मुजुरा, खैजरी, डम्फु लगाएतका सामग्री खरिद गरेको कुशल कंडेलको भनाई छ ।