सम्पादकीय
जेनजी अर्थात् पछिल्लो उदियमान पुस्ता । जुन पुस्ता दोस्रो विश्वयुद्ध (सन् १९४५) पछिको चौथो (फोर्थ जेनेरेसन) हो । सन् १९९७ देखि २०१२ भित्र जन्मिएका र हालको उमेर १३–२८ वर्ष उमेर समूहका जेनजीमा पर्छन् । उनीहरुकै पहलकदमीमा भाद्र १३, सेप्टेम्बर ८ का दिन काठमाडौं माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्ने तय गरिएको थियो । जसका दुई एजेन्डा थिए, पहिलो भ्रष्टाचार रोक्न र दोस्रो अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको महत्वपूर्ण माध्यम बनेको सामाजिक सञ्जाल माथिको प्रतिबन्ध फुकुवा । जेनजीले उठाएको एजेन्डा गलत थिएनन्, राज्य सञ्चालक, शासक र कर्मचारीतन्त्रलाई जिम्मेवार र जवाफदेही बनाउन सांकेतिक बिरोध र विद्रोहको शुरुवातका रुपमा सोमबारको प्रदर्शनलाई हेरिएको थियो । तर, दुर्भाग्य जेनजीको रचनात्मक हुने अपेक्षा गरिएको आन्दोलन, संसद भवन केही घण्टाकै अन्तरालमा रणमैदानमा परिणत भयो ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर १४ जनाको मृत्यु भएको खबर सार्वजनिक छ । २ सय बढी घाइते भएका छन् । संसद भवन परिसर लगायतका स्थानमा सार्वजनिक र निजी सम्पत्ति माथि आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यालयले दिउँसो नै काठमाडौंमा कफ्र्यू आदेश जारी ग¥यो । तर, त्यस पश्चात पनि स्थिति तनावपूर्ण छ । यस नरसंहार हुने गरी भएको सरकारी प्रहरी दमनको सर्वत्र बिरोध भइरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेसकै नेताहरुले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा सहित सरकारबाट फिर्ता हुनुपर्ने सम्मको माग राखिरहेका छन् । नेकपा माओवादी लगायतका विपक्षी दलहरुले पनि सरकार चरम दमनमा उत्रिएकाले ठुलो मानवीय क्षति भएको भन्दै नैतिकताको आधारमा प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।
जेनजीले जुन उद्धेश्य र एजेन्डा बोकेर स्वतःस्फुर्त आन्दोलनमा उत्रिए, स्वेच्छाचारी प्रवृत्ति मौलाउँदै गएको नेपाली समाजमा यो खालको खबरदारी, चेतावनी सरकार र नेताहरुलाई जरुरी थियो । तर, ‘लिडरलेस’ आन्दोलन भएकाले जेनजी आन्दोलनमा घुसपैठ र अराजक अनियन्त्रित हुन सक्ने खतरा व्याप्त थियो । यही कारण जेनजीका मुख्य अभियन्ताहरुले माइतीघरमा शान्तिपूर्ण आन्दोलनबारे केही बुँदा पनि सुनाएका थिए । ती बुँदा संसद भवन नजिकको नयाँ बानेश्वर चोक सम्म आइपुग्दा अनियन्त्रित मात्र होइन, अराजक, तोडफोड र आगजनीको अवस्थामा पुगेको थियो । ‘लिडरलेस मुभमेन्ट’ अर्थात् एक किसिमले नेतृत्वविहीन आन्दोलन जस्तो अनुभूति भए पनि हिंसा र अतिवाद जेनजीको प्राथमिकतामा थिएन । दुर्गा प्रसाई लगायत केही अतिवादी, दक्षिणपन्थी र अराजक समूहले एजेन्डा अपहरण गर्ने कोसिस गरे पनि उनीहरुले सार्वजनिक रुपमै त्यसलाई अस्वीकार गरेका थिए । भलै यसका बाबजुद पनि कुन कुन स्वार्थ समूहले चलखेल गरे कि ? त्यो अनुसन्धानबाट खुल्दै जाला । गणतन्त्र पछिका झन्डै दुई दशकमा आलोपालो सत्तासीन नेताहरूको विगत र वर्तमान, तिनका सन्तान र आसेपासेहरूको आकस्मिक वर्गोत्थानविरुद्ध तन्नेरी आक्रोशलाई सरकार, पुराना दल, तिनका नेताहरुले एउटा पाठको रुपमा लिउलान् भन्ने अपेक्षा थियो । बिडम्बना जेन जीको यो विद्रोह माथि राज्यले अमानवीय रुपमा रक्तपात मच्चाएको छ, यो भत्र्सनायोग्य छ । यो नेपाली इतिहासमा पनि कालो दिनका रुपमा रहिरहनेछ ।
