• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

संवैधानिक बाटोबाटै निकास खोजौँ

सम्पादकीय
नेपाल र नेपालीका लागि पछिल्ला तीन दिन निकै दुःखदायी र सकसपूर्ण रह्यो । भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल प्रतिबन्धको विषयलाई लिएर जेनजीले गरेको आन्दोलनले हिंसात्मक रुप लिँदा १९ जनाको ज्यान गयो । उक्त घटना पछि मुलुकले अर्कै मोड लियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो राजीनामा दिन बाध्य मात्र भएनन्, उनी लगायत मन्त्री, शीर्ष नेताहरु भागाभाग हुने अवस्था पैदा भयो । आक्रोशित प्रदर्शनकारी समूहले सिंहदरबार, संघीय संसद भवन, सर्वोच्च अदालत लगायतका निकायमा आगजनी गरे । अरु निजी सम्पत्तिमा तोडफोड, लुटपाट लगायतका दर्जनौ घटना भए । यसबाट देश निकै भयग्रस्त अवस्थामा पुग्यो । अन्ततः राति १० बजेदेखि नेपाली सेनाले जिम्मेवारी लिएर परिस्थितिलाई सामान्य तर्फ उन्मुख गराउन देशभर कफ्र्यु लगाइरहेको छ ।

सैनिकको नेतृत्वमा परिस्थिति विस्तारै सामान्य त बन्दैछ तर मुलुक सञ्चालन भने जटिल बनिरहेको छ । नेपाली सेनाले अन्तरिम सरकारका लागि जेनजी वा जेनजीको प्रस्तावमा बनाउने गरी संवाद अघि बढाएको छ । तर, बुधवारको जेनजी बिचको छलफलमा वार्तामा सहभागी टिम, भावी प्रधानमन्त्री या चुनावी सरकारको नेतृत्वकर्ताका विषयमा भिन्न भिन्न मत सार्वजनिक भइरहेको छ । वार्ताका लागि जंगीअड्डा पुगेका केही जेनजी प्रतिनिधिले राजतन्त्र फर्काउने विषय समेत प्रस्ताव गरेपछि छलफलमा गम्भीर मतभेद देखिएको छ । गणतन्त्र पक्षधरले चाहिँ स्वतन्त्र र स्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेका छन् । यसबाट जेनजी आव्हानमा भएको आन्दोलनमा के कस्ता स्वार्थ समूहले अराजकता, तोडफोड र आगजनी गरेको क्रमशः रहस्य खुल्न थालेका छन् । आन्दोलन नितान्त जेनजी पुस्ताको कि यसमा अझ अरु देशी विदेशी शक्तिको पनि चलखेल र हात छ ? समयक्रमसँगै पर्दाहरु उघ्रिँदै जानेछन् ।

अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य छ । तर, अहिले अन्तरिम सरकार गठनको तयारी, छलफल हुँदै गर्दा केही राजनीतिक परिदृश्यहरु गम्भीर पनि देखिएका छन् । वर्तमान व्यवस्था, संविधानको नै हत्या गरेर मुलुकलाई पुरानै अवस्थामा फर्काउने खेलहरु हुन थालेका छन् । जेनजीको नेतृत्व टिम पनि यही विषयमा विभाजित अवस्थामा छ । अर्को तर्फ मुलुकमा पटक–पटक अराजकता र आन्दोलनबाट हिंसात्मक गतिविधि गर्दै आएका दुर्गा प्रसाई जेनजीको प्रतिनिधि बनेर प्रधानसेनापतिसँगको वार्तामा सहभागी भइरहेका छन् । यसबाट जेनजी आन्दोलन र अबको कदमबारे थप संशयहरु सिर्जना भइरहेका छन् । पुरानो राजनीतिक नेतृत्व प्रतिको बितृष्णा र आक्रोशको बदलाव अहिलेको परिघटना हो । अब जेनजी पुस्ताको भावना र अपेक्षा बमोजिम अगाडि बढ्नुको विकल्प छैन । त्यो पनि ऐतिहासिक जनआन्दोलनको जगबाट स्थापित संविधान र लोकतान्त्रिक बाटोबाटै जेनजी पुस्ताको भावना बमोजिम अगाडि बढ्न अपरिहार्य छ । बरु जतिसक्दो छिटो संवैधानिक रिक्तता र शून्यता आउन नदिन सार्थक पहलकदमी लिन जरुरी छ ।