बागलुङ । पहिरोका कारण परिवार विस्थापित भएर आफन्तकोमा बस्दै आएका बागलुङ नगरपालिका वडा नं. ८ सिगानाको एक परिवारले पुनस्थापनाका लागि सरोकारवालाहरुले ध्यान नदिएको गुनासो गरेको छ ।
भदौ २८ गते सांझ घरमाथिबाट आएको पहिरोबाट राम बहादुर खड्काको परिवार विस्थापित भएर आफन्तकोमा बस्दै आएका छन् । पहिरोले खड्काको गोठ पुरेको थियो, गोठमा रहेको एउटा भैसीको मृत्यु भएको थियो ।
चट्टान सहितको पहिरोले घर छोडेर हिड्ने बनायो, पहिरो गएको पनि ४ दिन भइसक्यो, तर पहिरो व्यवस्थापन गर्ने कार्यमा सरोकारवालाको चासो देखिएन, पीडित राम बहादुर खड्काले भन्नुभयो,–पहिरोबाट भएको क्षतिको बारेमा सम्बन्धित निकायमा जानकारी गराइएको छ, विस्थापित परिवारलाई पुनस्थापित गर्ने विषयमा चासो देखिएन । पहिरोबाट भएको क्षतिका बारेमा आउने, हेर्ने र जाने अवस्था देखियो, रमिता हेरेको अनुभूति भएको छ, खड्काले भन्नुभयो ।
बागलुङ बजार हुदै बरेङ शान्तिपुर जाने सडकको सिगाना खण्डमा गएको पहिरोका कारण यातायात अवरुद्ध भएको छ, विद्यार्थी, किसान लगायत सर्वसाधारणको आगावमनमा अवरोध भएको छ । बागलुङ नगरपालिका-८ का अध्यक्ष छम बहादुर कार्कीले आजबाट पहिरो पन्छाउने बताउनुभयाे ।
