• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

काठेखोला गाउँपालिकाले कांग्रेसको पार्टी कार्यालय बनाउन दिएको रकम नियम विपरित छ : महालेखा

बागलुङ / काठेखोला गाउँपालिकाले विपी प्रतिष्ठानका नाममा नेपाली कांग्रेस बागलुङको भवन निर्माणका लागि बजेट विनियोजन गरी भुक्तान गरेको रकम नियम विपरित भएको खुलेको छ । पालिकाले आर्थिक वर्ष २०८०÷०८१ को बजेटबाट वि.पी. प्रतिष्ठानको नाममा ७ लाख ६० हजार रुपैया अनुदान रकम भुक्तान गरेको महालेखा परीक्षकको कार्यालय काठमाडौंले जनाएको छ । महालेखा परीक्षकको कार्यालयले गत जेठ ८ गते पालिकालाई दिएको प्रतिवेदनमा विपी प्रतिस्ठानलाई भुक्तान दिएको रकम नियम सम्मत नभएको औल्याएको छ ।

महालेखा परीक्षकको कार्यालयले दिएको प्रतिवेदनको ६० नं. बुदा मा अन्य निकाय खर्च शिर्षकमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि संघ÷संस्था आदिलाई कुनै पनि किसिमको चन्दा, उपहार, पुरस्कार तथा आर्थिक सहायता वितरण गर्न नपाइने व्यवस्था छ । तर छुट्टै अस्तित्व र बजेट व्यवस्था भएका कार्यालय तथा संघ संस्थाहरुलाई विभिन्न कामका लागि १४ लाख ५ हजार ५०० रुपैया भुक्तानी दिएको रकम नियम सम्मत नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

वि पी प्रतिष्ठानलाई ७ लाख ६० हजारसंगै बागलुङ महोत्सवलाई २ लाख, नेपाल मगर संघलाई ३ लाख ४८ हजार ५०० र नेपाल रेडक्रस सोसाइटीलाई ९७ हजार नियम विपरित भुक्तानी गरेको महालेखाले जनाएको छ ।  काठेखोला गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको तथा योजनाहरु वितरणमुखी भएको समेत महालेखाले औल्याएको छ ।

साना साना योजना बनाउने र कार्यकर्तालाई थामथुम पार्ने, चुनावका बेला मत बढाउने खालका बजेट परिचालन गर्ने प्रचलन प्राय पालिकाहरुमा देखिएको छ । महालेखाले दिएको प्रतिवेदनमा अन्य ब्यहोरा शिर्षकमा गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, लक्ष्य अनुसार असुली नभएको, कर्मचारीको दरवन्दी अनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा असर परेको, अनुदानको पर्याप्त अनुमगन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा औल्याएको छ ।

महालेखा परीक्षकको कार्यालयले पार्टी कार्यालय लगायतलाई दिएको आर्थिक सहयोगलाई नियम विपरित भन्दै महालेखाले दिएको प्रतिवेदनका सम्बन्धमा गाउँपालिकाका अध्यक्ष राजु थापाले पालिकाले अनियमित भएका भुक्तानीलाई नियमित बनाउने अभियान चलाइरहेको बताउनुहुन्छ । स्थानीय सरकारका व्यवहारिक पक्षलाई महालेखाले दिएको सुझावका आधारमा अनियमित भन्न नमिल्ने उहाँको बनाई छ । थापाले भन्नुभयो ‘महालेखाको सुझावका आधारमा पालिकाले प्रकृया पु¥याउछ, नियमित गर्छ, सबैले माग्छन्, पालिकाप्रति जनताको आशा हुन्छ, तर भुक्तानी प्रकृया नपुगेको कुरामा हामीले चासो दिएर प्रकृया मिलाउछौ्, पुष्पलाल, बिपिका नाममा हामीले मात्रै हैन राज्यले समेत लगानी गरेको कुरा अन्यथा लिनु हुन्न ।’

पार्टी कार्यालयलाई बजेट विनियोजन गर्न सहमत हुनु भएछ, भागवण्डा अनुसार हो कि ? यहाँले चासो नदिएको हो, भन्ने प्रश्नमा पालिकाका उपाध्यक्ष तेज बहादुर थापा (तिलक)ले यस विषयमा पालिकामा कुनै छलफल नभएको बताउनुहुन्छ । उहाँले प्रतिवेदनले दिएको सुझावका आधारमा आगमी दिनमा सच्चिएर पालिका अघि बढ्ने बताउनुभयो ।२०७९ को स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रले पालिका अध्यक्ष, उपाध्यक्ष र ५ वटा वडामा जित हासिल गरेका थिए । अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका उमेदवार विजयी भएका थिए । वडा नं. १, ५, ६ र ८ मा नेपाली कांग्रेस तथा वडा नं. ४ मा राष्ट्रिय जनमोर्चाका उमेदवार र वडा नंं २, ३ र ७ मा एमालेका उमेदवार विजयी भएका थिए ।

काठेखोलामा प्रमुख प्रतिपक्षीको रुपमा रहेको नेकपा एमालेका जनप्रतिनिधिहरुले कांग्रेसको पार्टी कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेर भुक्तानी भएको विषयमा किन मौन छ, कांग्रेसको भवन निर्माणका लागि बजेट विनियोजन भएको विषयलाई बार्गेनिङ गरेर आफुहरुले पनि बजेट बढाएको आरोपका बारेमा एमाले नेता तथा वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर विकले यो विषयमा गाउँ परिषदमा विरोध गरेको दावी गर्नु भएको छ ।

यो कार्य गर्नु हुदैन भनेर प्रतिवाद त गरेका हौ, तर बहुमतले पारित गरेपछि हामीले त्यसमा थप आपत्ती जनाएनौ, सार्वजनिक गर्नेतिर हाम्रो ध्यान गएन, जनताका बीचमा यो कुरा राख्नु पर्नेमा आफुहरु चुकेको विकको भनाइ छ । यो विषयलाई देखाएर बार्गेनिङ गर्ने, बजेट बढाउने काम भएको छैन, काठेखोलामा एमालेले मागेर केही पनि दिने अवस्था छैन, हामीले मागेर दिने अवस्था पनि छैन, भनेर मान्ने अवस्था पनि छैन, विकले भन्नुभयो ।

हेर्नुहोस महालेखाले औलाएको खर्च विवरण