• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

जेनजी आन्दोलन र पुस्तान्तरणको प्रश्न

सम्पादकीय
नेपालको इतिहासमा एक अपेक्षित तर, अकल्पनीय आन्दोलनको रुपमा स्थापित भयो जेनजी आन्दोलन । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको काठमाडौं माइतीघरमा आयोजित सामान्य सांकेतिक शान्तिपूर्ण आन्दोलन थियो । जुन आन्दोलनले विद्रोहको रुपमा लेला र मुलुकमा यति ठुलो कायापलट र भयावह होला भन्ने कसैको कल्पना र अनुमानमा थिएन । तर, माइतीघरबाट शान्तिपूर्ण रुपमा शुरु भएको आन्दोलन नयाँ बानेश्वर संसद भवन परिसर सम्म पुग्दा सम्म रणभूमिमा परिणत भइसकेको थियो । एकातर्फ शान्तिपूर्ण भनिएको आन्दोलन निषेधित क्षेत्र तोड्दै जबरजस्त संसद भवन तोडफोड र आगजनीमा उत्रिदै थियो भने अर्कोतर्फ सरकार गोली प्रहार सहित चरम दमनमा उत्रियो । जहाँ केही घण्टाकै अन्तरालमा १९ जनाको मृत्युको खबर आयो । यसपछि आक्रोशित समूहले भोलिपल्ट विरोध प्रदर्शन मात्र गरेन, सरकारी, सार्वजनिक र निजी सम्पत्ति माथि आगजनी तोडफोड गरेर देशभर ध्वंस गरियो ।

अन्ततः पुरानो सत्ता किनारा लाग्यो । नेकपा एमाले र नेपाली कांग्रेस समीकरणमा बनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । जेनजीको माग अनुसार संसद विघटन भयो । अहिले पूर्व प्रधानन्याधीश शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । जसले आगामी ६ महिना भित्र निर्वाचन सहित जेनजी आन्दोलनमा चरम दमन र ध्वंस गर्ने माथि छानविन र कारबाही, २०४७ साल यताका सार्वजनिक पद धारण गरेका नेता र कर्मचारीको सम्पत्ति छानविन गर्ने कार्यभार छ । अब अन्तरिम सरकार यसतर्फ केन्द्रित हुनुपर्नेछ । जेनजी आन्दोलनले यस परिघटनासँगै वर्षौदेखि नेपालको शासन सत्ता हातमा लिएर मिलिजुली रजगज चलाइरहेका छन् । उनीहरु अब करिब करिब किनारा लागेका छन् । कमसेकम जसका कारणबाट अहिलेको घटना, परिघटना निम्तिएका छन्, प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड लगायत माथि नेतृत्व छोड्न नैतिक दबाब त छँदैछ, पार्टी भित्र आन्तरिक र बाह्य दबाब पनि बढ्दै गइरहेको छ । उनीहरुले आफु नेपाली राजनीतिमा ‘डेट एक्सपायर’को तितो सत्य स्वीकार गर्न ढिला गर्नु हुँदैन । तर, यस आन्दोलन र घटना पश्चात पनि पछि हट्ने संकेत भने अझै देखिएको छैन ।

जेनजी आन्दोलन विशुद्ध समयसापेक्ष र नेतृत्व पुस्तान्तरण गतिशील नेतृत्वका लागि हुनुपथ्र्यो । चरम घुसपैठ, अराजकता र चलखेलका कारण देशभर भएको ध्वंसले बदनाम र सोचनीय पनि छ । तर, यस पाटोलाई छोडेर हेर्ने हो भने देश साँच्चिकै सुशासनयुक्त र समृद्ध बनाउने सुन्दर अवसर छ । यसका लागि अब पनि पुरानै नेतृत्व रहेर या राखेर सम्भव छैन । पुराना नेताहरु जो आन्दोलनकै जगलबाट यहाँ सम्मान आएका हुन्, त्यसका लागि अहिले सम्म उनीहरुलाई सम्मान गरेरै सर्वोच्च पद सम्म जनताले नै पु¥याएका हुन् । तर, जनअपेक्षा, जनभावना विपरित काम र कदम चाल्दै गए पछि जनताले नै फेरि सडकमा पु¥याएका छन् । यसले जनता जनार्दन नै सबै भन्दा ठुलो हुन् भन्ने पुर्नपुष्टि गरेको छ । सत्ता ढाल्ने गरी भएको जेन–जी आन्दोलनपछि प्रमुख दलहरूमा पुस्तान्तरणको बहस तीव्र त बनेको छ । कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीका दोस्रो र तेस्रो तहका नेताहरूले नेतृत्व हस्तान्तरणको माग गरेका छन् । तर, शीर्ष नेताहरू भने अझै मौन छन् । यसले अझै पनि नेतृत्वमा पुस्तान्तरण हुनेमा संशय छ । यदि अझै पनि पुराना नेताहरु अहिलेको आन्दोलनबाट पाठ सिक्दैनन्, पछि हट्दैनन् भने त्यो उनीहरु स्वयंम्का लागि त अर्को दुर्भाग्यपूर्ण दुस्साहस त हो नै, सिंगो नेपाल र नेपालीका लागि पनि दुर्भाग्य सावित हुनेछ ।