बागलुङ/नेकपा एमालेले सडकमा एक कार्यक्रम आयोजना गरी पार्टी पुन सक्रिय भएको सन्देश दिएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते क्षति भएको नेकपा एमाले बागलुङको पार्टी कार्यालय पुन सञ्चालनमा आएको जनाउदै सडकमा ल्याएर जलाइएको कार्यालय पुन सडकबाटै उद्घोष गरेर सक्रिय भएको बताइएको छ ।
आन्दोलनकारीले पार्टी कार्यालयको बोर्ड, कागजपत्र, फर्निचर लगायतका सामाग्री सडकमा ल्याएर जलाएपछि बन्द भएको पार्टी कार्यालय १० दिनपछि पुन सक्रिय बनेको हो । नेकपा एमाले बागलुङले आज पत्रकार समक्ष औपचारिक रुपमा पार्टी कार्यालय स्थापना गरेको जानकारी गराउदै हिंसात्मक आन्दोलनले कसैलाई फाइदा नपुग्ने पार्टी कार्यालय स्थापना गर्न पुगेका एमाले नेताहरुले बताएका छन् ।कार्यालय परिसरमा पुनः पार्टीको झण्डा र बोर्ड स्थापना गरिनुका साथै फर्निचर लगायतको काम गरेपछि सडकमा आएर एमालेले पत्रकार समक्ष पार्टी पुन सञ्चालनमा आएको जनाएको थियो ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य मन कुमारी केसी, केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा लगायतको उपस्थितिमा एमालेको आधिकारिक धारणा समेत सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा आधिकारिक धारणा सार्वजनिक गर्दै नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले जेनजी पुस्ताले गरेको आन्दोलनको उद्देश्य पवित्र भएपनि हिंसात्मक आन्दोलन स्विकार्य नभएको बताउनु भयो । उहाँले हिंसाले प्रतिहिंसा जन्माउने बताउदै संयमित हुन आग्रह गर्नुभयो । उहाँले नेकपा एमाले पुन सक्रिय भएर गाउँ–गाउँमा पुग्ने बताउनुभयो । केसीले आन्दोलनका क्रममा भएको क्षतिपूर्ति, संगठनको पुनर्संरचना तथा जनस्तरमा पार्टीको सक्रियता पुनः स्थापित गर्ने विषयमा जोड दिनुभएको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका पूर्व नगर प्रमुख जनकराज पौडेल लगायत युवा तथा विद्यार्थीसंगै सडकबाट एमाले पुनस्थापना भएको घोषणा गरेका थिए ।
पार्टी कार्यालय जलेको लामो समयसम्म पनि जिल्ला पार्टी मौन रहेकोमा कार्यकर्ताहरुले आश्चार्य व्यक्त गरेका थिए । ढिलै भएपनि पार्टी कार्यालय सञ्चालनमा आएको छ । कार्यक्रमको सञ्चालन नेकपा एमाले जिल्ला सचिव गणेश थापाले गर्नुभएको थियो ।