• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङ कांग्रेसको माग : पार्टी सभापति देउवाले बाटो खोल्नु प¥यो ?

बागलुङ/ नेपाली कांग्रेस जिल्ला कार्य समिति बागलुङको वैठकमा पार्टी सभापति शेर बहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नु पर्ने माग जोडदार रुपले उठेको छ ।

जेन जी आन्दोलनका क्रममा कार्यालयका सामानहरुमा आगजनी भएपछि पहिलो पटक बसेको जिल्ला कार्यसमितिको वैठकमा सहभागी अधिकांशले कांग्रेस केन्द्रदेखि वडासम्म पुर्नगठन र रुपान्तरण हुनु पर्नेमा जोड दिए । अबको मुल एजेण्डा पार्टीमा आमुल परिवर्तन हो । जेन जी आन्दोलन पछिको राजनीतिक परिवर्तनलाई कांग्रेसले आत्मसात गरेर अगाडि बढ्नु पर्नेमा वैठकमा जोड दिइएको थियो ।

पार्टीलाई पुरानै लयमा फर्काउने हो भने पार्टी सभापति शेर बहादुर देउवाले तत्काल कार्यवाहक दिएर बाटो खाली गरिदिनु पर्ने माग वैठकमा उठेको छ । नेतृत्व परिवर्तन भएन भने कांग्रेस पुरानो लयमा फर्कन नसक्ने सुझाव वैठकका सहभागीहरुले दिएका छन् । कांग्रेसले नीति, नेतृत्व र व्यवहार परिवर्तन गर्नु पर्छ, पार्टीलाई आमुल परिवर्तन गरेर जानु पर्नेमा सबैले जोड दिएका छन्, सभापति जीत बहादुर शेरचनले भन्नुभयो,–‘जेन जी र अल्पा पुस्ताको चाहना अनुसारको पार्टी निर्माणका लागि पार्टीलाई पुर्नगठन गरेर जानुको विकल्प छैन, भन्ने कुरा वैठकमा उठेको छ ।’

नेपाली कांग्रेसका बागलुङका सचिव हरिहर शर्माले पार्टी सच्चिएर अघि जाने सन्र्दभमा अधिकांशले बैठकमा धारणा राखेको बताउनुभयो । उहाँले पुस्तान्तरण गर्न सके पार्टीमा कुनै समस्या नरहने अधिकांशको सुझाव रहेको बताउनुभयो । वैठकका सहभागीहरले बदलियो परिवेशमा पार्टीको विशेष महाधिवेशन वा तत्काल महासमिति वैठक वा अन्य कुनै माध्यमबाट नेतृत्व परिवर्तन गरेर अहिलेको चुनौतीलाई सामना गर्ने गरी कदम चाल्नु पर्ने बताएका थिए ।

वैठकले जेनजी आन्दोलनका क्रममा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । जेन जीको आन्दोलनमा घुस पैठ गरी सार्वजनिक सम्पत्ती तोडफोड गर्नेहरुको पहिचान गरी कार्वाही गर्न कांग्रेसले माग गरेको छ । नेपाली कांग्रेस बागलुङको कार्यालयमा रहेका कागजात, कम्प्युटर लगायतका सामग्री भदौ २४ गते आन्दोलनकारीले लोकतान्त्रिकचोकमा लगेर जलाएका थिए ।

पार्टी कार्यालयका सामग्री जलाएको विषयमा कांग्रेस बागलुङले तीन दिन पछि विज्ञप्ती प्रकाशित गरि विरोध जनाएको थियो ।
नेपाली कांग्रेस र एमाले सम्मिलित सरकारको निर्देशनमा भदौ २३ गतेको आन्दोलनमा गोली प्रहार गरी १९ जना युवाको मृत्यु भएपछि २४ गतेको आन्दोलन उग्र बनेको थियो । आन्दोलनका क्रममा ७२ जनाको मृत्यु भएको छ भने खर्बौको सम्पत्ती जलेर नष्ट भएको छ ।