• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

माओवादी बागलुङको कार्यालय पुनः सुचारु

  • २०८२ आश्विन ३, शुक्रबार

बागलुङ । जेन जी आन्दोलनका क्रममा आगजनी भएको नेकपा माओवादी केन्द्र बागलुङको कार्यालय शुक्रवारदेखि पुनः सञ्चालनमा आएको छ । संविधान दिवसको अवसर पारेर माओवादी जिल्ला कार्यसमितिले पार्टीको बोर्ड राख्नुका साथै कार्यालय सुचारु भएको जानकारी दिएको हो ।

जेन जी आन्दोलनका सहभागीहरुले भदौ २४ गते माओवादी जिल्ला कार्यालयको बोर्ड सहित कागजपत्र र फर्निचर सडकमा लगेर जलाइ दिएका थिए ।

आन्दोलनका नाममा हाम्रो आस्थाको धरोहरमाथि आक्रमण भएको छ, पार्टीको कार्यालय जलाउने कार्य निन्दनीय छ, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्र बहादुर बुढा सागरले भन्नुभयो,–‘पार्टीको भौतिक संरचनामा क्षति भए पनि हाम्रो आस्थामा कमी आएको छैन ।’

जेन जी ले उठाएको मागहरु सकारात्मक छन्, पार्टीहरुले बेलैमा ध्यान नदिएका कारण जेन जीहरु आन्दोलित हुनु परेको हो, तर जेन जीको आन्दोलनमा देखिएका अराजक गतिविधिहरु क्षम्य छैनन, बुढा मगरले भन्नुभयो । आगामी दिनमा पार्टीलाई थप व्यवस्थित बनाउदै युवाहरुको चाहना र भावना अनुसार अगाडि बढ्ने विषयमा आफुहरु सचेत रहेको उहाँको भनाइ थियो ।

लामो राजनीतिक संघर्षबाट प्राप्त संविधानको मर्म र भावनालाई अंगिकार गर्दै अगाडि बढ्नका लागि सबैले सकारात्मक भएर सोच्नु पर्नेमा उहाँको जोड थियो । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र बागलुङ नगर कमिटिका अध्यक्ष निर्मल श्रेष्ठले गर्नु भएको थियो ।

पार्टी कार्यालय तोडफोड भएको लामो समयसम्म पनि माओवादी नेतृत्वबाट कुनै प्रतिक्रिया नआउदा कार्यकर्ताहरु अलमलमा परेका थिए । ११ दिन पछि भएपनि पार्टी कार्यालयमा बोर्ड राखेर काम शुरु भएको छ, यसले फेरी उत्साह थपेको कार्यक्रममा सहभागी एक कार्यकर्ताले बताए ।

  • २०८२ आश्विन ३, शुक्रबार