बागलुङ । जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी कार्यालयहरुको अवलोवलनका लागि एमाले नेता खगराज अधिकारी जिल्ला दौडाहामा रहनु भएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकलाई साथमा लिएर हिडेका नेता अधिकारीले शनिवार पर्वत, बागलुङ र म्याग्दीका जिल्ला कार्यालयहरुको अवलोकन गर्नु भएको हो ।
पर्वतको पार्टी कार्यालयसंगै केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज पदम गिरीको घरमा समेत आगजनी भएको थियो । नेता अधिकारी र स्वास्थ्यमन्त्री पाठकले शनिवार पार्टी कार्यालय र गिरीको घरको अवस्थाका बारेमा जानकारी लिनु भयो । जिल्लामा भएको क्षतिका बारेमा पार्टी अध्यक्ष गोविन्द पहाडीले जानकारी गराउनु भएको थियो ।

पार्टीका नेताहरुसंग समग्र जिल्लामा भएको क्षतिका बारेमा छलफल भएको एमाले पर्वतका उपाध्यक्ष बिमल लामिछानेले जानकारी दिनुभयो । बागलुङको पार्टी कार्यालयसंगै नेताहरुसंग जिल्लामा आन्दोलनको पारेको प्रभावका बारेमा छलफल भएको थियो । पार्टी अध्यक्ष हिरा बहादुर केसीले एमाले कार्यालय लगायत जिल्लाका अन्य दलका कार्यालयमा भएको क्षतिका बारेमा जानकारी गराउनु भएको थियो ।
म्याग्दीमा पार्टी कार्यालयको अवलोकनसंगै पार्टीका नेताहरुसंग क्षतिको अवस्था तथा पार्टीका गतिविधि लगायतका विषयमा छलफल भएको म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । अध्यक्ष सुवेदीले पार्टी कार्यालयमा भएको तोडफोडमा ३७ लाख भन्दा बढीको क्षती भएको जानकारी दिनुभयो ।

जेन जीको आन्दोलनमा घुसपैठ भएका कारण पार्टी कार्यालय र पार्टीका नेताहरुका घरमा छानी छानी आगजनी भएको अधिकारीको भनाइ छ । पार्टी सहित मुलुकलाई आन्दोलनले अपुरणीय क्षति पुराएको छ, अब पार्टीका सबै तहका नेता कार्यकर्ता संयमताकासाथ पार्टी निर्माणका लागि जुट्नु पर्छ, अधिकारीले निर्देशन दिनभयो ।
