सम्पादकीय
नेपालीहरुको महान पर्वको रुपमा परिचित बडा दशैं शुरु भइसकेको छ । असोज ६ गते घटस्थापनासँगै यसको देशभर रौनकता शुरु भइसकेको छ । शहर बजारमा मानिसहरुको किनमेल गर्ने घुइँचोदेखि संघीय राजधानी काठमाडौं लगायतका स्थानबाट आफ्नो जन्मघर जानेहरु ठुलो संख्यामा गन्तव्य तर्फ लागिसकेका छन् । हजारौंको संख्यामा जाने तर्खरमा छन् । तर, दशैंको सम्मुखमा मुख्य राष्ट्रिय राजमार्गहरुमा आइरहेको सुख्खा र वर्षासँगैको पहिरोले सडक अवरुद्ध भइरहेका छन् । जसका कारण जनताले चरम सास्ती र सकस बेहोर्न बिबश भइरहेका छन् । मुग्लिन–नारायणगढ सडक, काठमाडौं मुग्लिन सडकमा पटक–पटक खसेको पहिरोले यात्रुहरु आजित बनिरहेका छन् । अझ यसवर्षको बिजया दशमीको सम्मुखमा भइरहेको झरीले सडक सास्ती बढिरहेको छ ।
सडक अवरुद्ध हुने सबै भन्दा बढी मुग्लिन–नारायणगढ सडक खण्ड हो । जुन ७१ घण्टापछि मात्र सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको थियो । गत शुक्रबारको पहिरोका कारण अवरुद्ध सडक ४५ घण्टा पछि मात्रै आइतबार अपराह्नबाट एकतर्फी रूपमा खुलेको थियो । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला पुलनजिकै सुख्खा पहिरो झर्ने क्रम अझै पनि जारी छ । यस क्षेत्रको भौगोलिक बनावट कमजोर रहेकाले पहिरोको जोखिम उच्च छ । त्यसमाथि त्यहाँ टुक्रे चट्यान छ । त्यसले गर्दा यस क्षेत्रमा पहिरो खस्ने गरेको छ । उक्त स्थानमा पहिरो जाँदा काठमाडौंबाट पूर्वतिर दशैंमा घर जाने यात्रुहरू सबैभन्दा बढी मर्कामा परेका छन् । अहिले घर फर्कने यात्रुको चापका कारण धेरै सार्वजनिक सवारी साधन संचालनमा आएका छन् । यहीं बेला पहिरोले बाटो अवरुद्ध हुँदा सवारी साधनको लामो जामसमेत हुने गरेको छ । नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा सो सडक हुँदै गन्तव्य तर्फ जाने सवारी साधन र यात्रु मात्र होइन, काठमाडौं–मुग्लिन–पोखरा हुँदै गन्तव्य तर्फ जाने यात्रुहरु पनि लामो जामबाट प्रताडित बन्नु परेको छ । अहिले पनि उक्त स्थानमा पहिरो खस्ने जोखिम कायमै रहेको छ । भलै जोखिम मोलेरै सवारी साधन र यात्रुहरु गन्तव्य तर्फ लागिरहेका छन् । निजी सवारी धनीलाई भने अन्य बैकल्पिक बाटो प्रयोग गर्न स्थानीय प्रशासनले सुझाएको थियो ।
नेपालको भौगोलिक बनावट जति विविधतायुक्त छ, त्यतिकै कमजोर पनि । यही कारण वर्षेनी वर्षा, बाढी, पहिरोमा सयौंले जान गुमाउँदै आएका छन् । यसको मुख्य एक कारण सडकको दुर्दशा हो । १४ किलोमिटर दुरीको बाटो पार गर्न १६ घण्टासम्म लागेपछि यात्रुहरू स्वभाविक रुपमा आक्रोशित हुन्छन् । सरकारले दशैंअघि नै दाउन्नेको उकालो बाटो ढलान वा पिच गर्न ठेकेदारलाई निर्देशन दिए पनि अपुरै छ ।यही दुर्दशा अहिले दशैंको सम्मुखमा नेपाली नागरिकले भोगिरहेका छन् । भर्खरै मात्र मुलुकले ठुलो जेनजी आन्दोलन र ध्वंस भोगेको छ । यसबाट विस्तारै उठ्नु पर्ने बेलामा नागरिकको सडक सास्तीमा सरकारले खासै ध्यान दिने गरेको छैन । अहिले ठुला चाडपर्व मुखमा भएकाले धेरै कुरा गर्न भन्दा पनि अहिले अवरुद्ध राजमार्ग तत्काल शुरु गर्न अपरिहार्य देखिन्छ । यो सँगै अन्तरिम सरकारले जेनजी आन्दोलनको लक्ष्यका काम र भूमिकाहरु पुरा गर्न सक्रिय र समर्पित रहनु पर्नेछ । अन्यथा, सडकको सास्ती र सकस कुनै मन्त्रीको बर्खास्त या नियुक्तिले लिने छैन । यसमा स्थानीय युवाहरुको अभिमत पनि प्रष्ट आउन आवश्यक छ ।
