• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday

खर्बाङ–सिसाखानी सडक श्रमदानमार्फत खुलाइदै

  • २०८२ आश्विन १०, शुक्रबार

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानी जाने खर्बाङ–सिसाखानी सडक असार यता ठप्प छ । जोर्तीखोलाको ज्गाकिन जाली बाढीले बगाएपछि सडक अबरुद्ध भएको थियो । त्यस यता दर्जन बढी स्थानमा सानाठूला पहिरो खसेर सडक अबरुद्ध भएपछि सडक खुलाउन स्थानीय सक्रिय भएर श्रमदानमा जुटेका छन् ।

दशैंको शुरुभइसक्दा समेत सवारी चल्न नसकेपछि स्थानीयहरु श्रमदानमार्फत सडक मर्मत गरेर सञ्चालनमा ल्याउन हत्दादिनदेखि कस्सिएका छन् । मध्यपहाडी लोकमार्गको खर्बाङदेखि सिसाखानी जाने झण्डै १२ किमि सडकको पहिरो ग्रस्त क्षेत्र र जोर्तीखोलामा ग्याबीन भर्नेकाममा एक हप्तादेखि स्थानीयहरु श्रमदानमा खटिएका छन् ।

सिसाखानी जाने सडकमध्ये खर्बाङ–सिसाखानी, खर्वाङ ताकमसेरा र रिगा–किटेनी–सिसाखानी सडक बन्द भएपछि स्थानीयहरुले दशैंको टिका अघिसम्म सडक मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

सडक खुलाउन गाउँपालिकाले पहल नगरेपछि दशैंमा घर आउने र खाद्यन्न सामाग्री ल्याउन सकस भएको भन्दै चारदिनदेखि सडक मर्मतमा खटिएको सिसाखानीका स्थानीय सरिता रोका भुजेलले जानकारी दिनुभयो ।

उहाँले अहिले सिसाखानीको साविक ४,५,६ वडाका बासिन्दा श्रमदानमा जुटेर मुख्य सडकको रुपमा रहेको खर्बाङ–सिसाखानी सडक सञ्चालनमा ल्याउन काममा खटिरहेका छन् । अहिले मुख्यगरी जोर्तीखोला बढेका कारण सडक समस्या भएकाले जोर्तीखोलामा ग्याबिन जाली भरेर सडक खुलाउने काम भइरहेको भुजेलले जानकारी दिनुभयो ।

“गत वर्ष पालिकाको खर्चमो ग्याबिन भरिएको थियो, गत वर्षनै बाढीले बगाएपछि सडक सुचारु गर्न सकिएन, यो वर्ष वडाले ग्याबिन जाली खरिद गरेको र स्थानीय १५० भन्दा बढीको सहभागीतामा जालिभरिएको छ, ट्याक्टरले निःशुल्क सामाग्री ढुवानी गरेको छ” भुजेलले भन्नुभयो “कम्तिमा दशैंमा छोराछोरी घरमै आउन गाडी चढेर भन्ने छ, हेरौ, दुई/चार दिनमा त सडक खुल्ला, वडाकार्यालयको बजेटले सिंगो वडाका सडक मर्मत गर्न निकै चुनौती रहेछ ।”

वडाकार्यालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. पाँच लाख सडक मर्मत खर्चले ज्याबिन, आवश्यक स्थानमा सिमेन्ट मात्रै खरिद गरेको र सम्पूर्ण वडाबासीलाई श्रमदानमा जुट्न आग्रह गरेको बडिगाड गाउँपालिका–३ सिसाखानीको वडाअध्यक्ष खड्क पुनले जानकारी दिनुभयो । उहाँले दशैं अघि सम्म सडक सुचारु गर्नेगरी विभिन्न स्थानमा सडक श्रमदानबाट मर्मत भइरहेको र जोर्तीखोलामा ग्याबिनमाथीबाट सवारीसाधन सुचारु गर्ने तयारी भएको बताउनुभयो । उहाँले जोर्तीखोलामा मोटरेबल पुल नहुँदा वर्खामा सधै सास्ती भइरहेको बताउनुभयो ।

बडिगाड गाउँपालिका–५ दाँगमा समेत स्थानीयले श्रमदानमार्फत सडक मर्मत गरेका छन् । चाडवाडको मुखमा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएपछि स्थानीयहरु जुटेर पाँच किमि सडक श्रमदानबाट मर्मत गरिएको स्थानीय लोकनाथ घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले बजेट अभावमा डोजर पठाउन नसकेपछि दशैंको मुखमा हिलाम्मे सडकमा खाल्टाखुल्टी पुरिएको, पहिरो पन्छाइएको र सोलिङ समेत गरिएको घिमिरेले जानकारी दिनुभयो ।

  • २०८२ आश्विन १०, शुक्रबार