सम्पादकीय
बडा दर्सैँ अर्थात् बिजया दशमीको रौनकता सकिन लागेको छ । यद्यपि, पूर्णिमाको दिन सम्म दर्सैँको टीका लगाउने क्रम जारी रहन्छ । हिन्दु धर्मालम्बीहरुको महान पर्व भनिए पनि पछिल्लो समय नेपालीहरुकै महत्वपूर्ण पर्वको रुपमा बडा दर्सैँले नेपाली समाजमा महत्वपूर्ण स्थान ओगटेको छ । यही कारण दर्सैँ यस्तो पर्व हो, जुन बेला संघीय राजधानी काठमाडौंदेखि चहलपहल भइरहने शहर बजार, मुकामहरु सुनसान बन्छन् भने अरु बेला बसाइँ सराइले सुनसान बनिरहेका गाउँ घरमा चहल पहल र रौनकता बढ्छ । रोजगारीको शिलशिलामा विदेश र देशका बिभिन्न स्थानमा जागिर, अध्ययन, पेशा व्यवसायका लागि गएकाहरुको ठुलो संख्या दसैँ मनाउन घर आएका छन् । जसले गर्दा चहल पहलयुक्त बनेको गाउँघर दर्सैँ सकिए लगत्तै फेरि अब केही दिनमा उस्तै सुनसान बन्ने तर्खरमा छन् ।
दर्सैँसँगै फेरि एक पटक एक बहस, मन्थन अपरिहार्य बनेको छ । दिन प्रतिदिन क्रमशः रित्तिदै गरेको गाउँको भविष्य अब के होला ? देशको राजनीतिक अस्थिरता र भय एकातर्फ छ, अर्कोतर्फ बुढ्यौलीले थामेको गाउँ घर उनीहरु क्रमशः अवसान हुँदै गए पछि के होला ? रोजीरोटी र अध्ययनको खोजीमा परदेश र देशका बिभिन्न स्थानमा पुगेकाहरु गाउँ फर्किने सम्भावना कमजोर बनिरहेको छ । यही कारण गाउँ घरका हजारौं रोपनी खेतबारी बाझो बनिसकेका छन् । परम्परागत ढुंगा माटोले बनेका सुन्दर घरहरु खण्डहरमा परिणत हुन थालेका छन् । गाइबस्तु भाउ पाल्ने, खेती किसान गर्ने मानिसहरु पाइनै छाडेको छ । अर्गानिक खाजाको ठाउँमा शहर बजारकै जंकफुडले स्थान लिइसकेको छ । कुनै बेला प्रत्येकघरजसो प्रशस्त दुध, घिउ हुने गाउँमा अहिले छरछिमेकमा किनेर खान्छु भन्दा पनि पाउन मुश्किल अवस्था छ । कोही बिरामी पर्दा एम्बुलेन्स लिएर अस्पताल लैजाने, कसैको मृत्यु भयो भने घाट सम्म बोकेर मलामी जाने जनशक्ति पाउन कठिन बन्दैछ ।
पहिलेको तुलनामा गाउँ घरमा अहिले सडक, बिजुली पुगेको छ । विद्यालयका भव्य पक्की भवन छन् । ग्रामीण बस्तीमा विकासका आधारभूत पूर्वाधारहरु तीव्रतर गतिमा निर्माण भइरहेका छन् । तर, गाउँ भित्र छिरेर हेर्दा विकासको खोल ओढे पनि बस्तीहरु खण्डहर जस्ता बनिरहेका छन् । मुलुकमा गणतन्त्र, संघात्मक शासन व्यवस्था नहुँदा सम्म गाउँमा विकास थिएन, अहिले धमाधम गाउँघरमा विकास पुगिरहेका छन् तर मान्छे छैनन् । यसको कारण के–के हुन् त ? अब तत्काल खोजी र समाधानका विकल्प तर्फ आवश्यक पहलकदमी लिन जरुरी भएको छ । गाउँमा विकासका पूर्वाधार क्रमशः पुगे पनि स्वास्थ्य, शिक्षा र रोजगारीको समस्या बढ्दो छ । गाउँका मानिसको सामुदायिक विद्यालय प्रतिको विश्वास घट्दै जानु र निजी विद्यालय प्रति विश्वास बढ्दै जानु गाउँ खाली हुनुको मुख्य कारण हो । यसले बसाइँ सराइ बढाइरहेको छ । अब बसाइँ सराइ रोक्न, गाउँमै शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाको पहुँचलाई प्रभावकारी बनाउन भूमिका नखेल्ने हो भने यसले गाउँघरमा भोलिका दिनमा निकै भयावह अवस्था सिर्जना हुने निश्चित छ । यसमा केन्द्र, प्रदेश र स्थानीय तहले प्रभावकारी नीति, कार्यक्रम र कदम चाल्न अब ढिलाई गर्नु हुँदैन ।
