• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

देउवाले लिएको अनिवार्य विकल्पको बाटो

सम्पादकीय
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको दुई दशक भयो । यसबिच पुरानो निरकुंश राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य भएर राजनीतिक नेतृत्वले शासन सत्ता सम्हाले पछि देशमा परिवर्तन, विकास र समृद्धिको उभार आउने भारी अपेक्षा थियो । पहिलेको तुलनामा मुलुकमा केही नभएको त होइन तर, परिवर्तिन व्यवस्था र गतिशील समय अनुसार कुशल नेतृत्वकर्ता भने पाउन सकेन । फलस्वरुप नागरिकमा दिन प्रतिदिन निराशा र आक्रोश थपिदै गयो । राजनीतिक नेतृत्व भने राजनीतिलाई कुरुप बनाउँदै सत्ताको बागडोर सम्हाल्न जुनसुकै हद र विकल्प अपनाउन उद्दत भए । नागरिकमा निराशा र आक्रोश एकातिर छ, मुख्यः राजनीतिक नेतृत्व भने आफ्नै हठ, आडम्बर र अंहम्ता प्रदर्शनको होडबाजीमा रहे । अहिलेको जेनजी आन्दोलन त्यही असन्तुष्टि र आक्रोशको उपज हो । भलै यसमा देशी विदेशी शक्तिको चलखेल र भूमिका किन मिश्रित नहोस् ।

जेनजी आन्दोलनबाट ७६ जनाको ज्यान गयो । खर्बौको भौतिक क्षति भयो । प्रदर्शनका क्रममा देशका सफल उद्यमी व्यवसायीका पसल, सोरुमहरुमा आगजनी, तोडफोड र लुटपाट गरियो । राजनीतिक दलका नेताहरुका घर खोजी खोजी आगजनी गरियो । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री रहेकी उनकी पत्नी आरजु राणा देउवालाई त गम्भीर घाइते हुने गरी कुटपिट गरियो । उनै देउवा जेनजी आन्दोलन पछि पहिलो पटक मंगलबार पार्टी केन्द्रीय कमिटी बैठकमा सार्वजनिक भए । जेनजी आन्दोलन पछि पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतमा नेतृत्वसहित पार्टी पुनर्गठनको माग चर्किएको छ । यही अनुक्रममा कांग्रेस सभापति देउवाले सक्रिय पदबाट बिदा लिएको बताएको छन् । उनले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकबाट उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेसँगै देउवा अब कांग्रेसको अभिभावकीय भूमिकामा पुगेका छन् ।

उसो त कांग्रेस भित्र विशेष महाधिवेशनको माग सहित हस्ताक्षर अभियान समेत चलिरहेको छ । महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यस अभियानको बहस छेडिरहेका छन् । भलै उनीहरु मंसिरमा नियमित महाधिवेशन हुने अवस्था नभए विशेष महाधिवेशन हुनुपर्ने जिकिर गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली केही पदाधिकारीले राजीनामा मागेर अभिभावकको रुपमा बस्न आग्रह गर्दा पनि नेतृत्व हस्तान्तरण नगर्ने बाटोमा देखिएका छन् । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्व छोडी नहाले पनि पार्टी महाधिवेशनबाट नेतृत्व चयन गर्ने गरी महाधिवेशन आयोजक कमिटी बनाएर अघि बढेका छन् । यसरी अहिले मुख्य राजनीतिक दलको नेतृत्वमा पुस्तान्तरणको बहस चर्किदै गए पनि तत्काल एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड नेतृत्व हस्तान्तरण गर्न अझै हिच्किचाहट गरिरहेका छन् । यसले उनीहरु र पार्टीलाई कहाँ पु¥याउनेछ ? त्यो समयक्रमले देखाउने छ नै, यस तुलनामा जेनजी आन्दोलनमा आफैंसमेत सांधातिक आक्रमणमा परेर स्वास्थ्य लाभ गरी फर्केका देउवाले पार्टी भित्र तत्काल नेतृत्व हस्तान्तरणका लागि उठेको आवाजलाई केही सम्बोधन गर्ने कोसिश गरेका छन् । कार्यबाहक दिने÷नदिने वा दिए पनि फेरि सक्रिय हुने नेता, कार्यकर्ताको आशंका शंकालाई आजदेखि अन्त्य गरिदिएका छन् । यो नेपाल र नेपाली राजनीतिका लागि सकारात्मक छ । यो अहिलेको जेनजी आन्दोलन र समयको अनिवार्य माग र आवश्यकता हो । यस जायज आवाजलाई जबरजस्त दबाउने या बेवास्ता गर्न खोज्ने नेता र दलहरुका लागि अहिलेको हठ र निर्णय ढिलोचाँडो महँगो सावित हुन सक्नेछ ।