• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

भर्ना भएरै आयुर्वेद पद्दतीबाट उपचार

बागलुङ। बागलुङको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नती पश्चात बिरामीहरु भर्ना भएरै उपचार गर्न थालेका छन् । धौलागिरी आयुर्वेद अस्पताल २५ शैयामा स्तरोन्नती भएपछि बिरामीहरु भर्ना भएर उपचार गर्न थालेको अस्पतालले जनाएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकको पहलमा गण्डकी प्रदेश सरकारले बागलुङको आयुर्वेद औषधालयलाई अस्पतालको रुपमा विकास गरेको हो ।

गण्डकी प्रदेश सरकारले गत वर्षनै औषधालयलाई स्तरोन्नती गरी २५ शैयाको बनाएको थियो । धौलागिरी आयुर्वेद अस्पताल बागलुङका प्रमुख डा. शरद पन्थीका अनुसार अहिले अस्पतालमा ८ शैया क्षमतामा विरामी भर्ना गरिरहेको जानकारी दिनुभयो । उहाँले भर्ना गरेरै उपचार थालिएको र व्यापक प्रचार–प्रसारको आवश्यकता रहेको बताउनुभयो ।

२५ शैयामा अनुमती पाएको अस्पतालले पुरानै कार्यालयलाई व्यवस्थापन गरेर बिरामी भर्ना गरिरहेको छ । आयुर्वेद अस्पताल स्तरवृद्धिका लागि गण्डकी प्रदेश सरकारले गत वर्षनै रु. एक करोड ३६ लाख लागतमा पूर्वाधार निर्माण संगै जनशक्ती व्यवस्थापन गरेको थियो । गत वर्ष ओपिडी सेवाका लागि १७ हजार बिरामी आयुर्वेद औषधालय पुगेका थिए । पछिल्लो तीन महिना यता मात्रै २९ जना बिरामीले भर्ना भएर सेवा लिइसकेको बताउदै ओपिडी सेवामा बिरामीको चाप समेत बढिरहेको पन्थीले बताउनुभयो ।

अस्पतालमा प्यारालाइससि, नसा च्यापएको, हाडजोर्नी, ग्याष्टिक लगायतका बिरामी अस्पतालमा भर्ना गरेरै उपचार गरिरहेको छ । यस्तै अस्पतालले पञ्चकर्म, पूर्वकर्म, छारसुत्र सर्जरी, अक्कुपन्चर र चिकित्सकीय योग लगायतको स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय आयुर्वेद औषधालयप्रति बिरामीको आकर्षण बढ्न थालेपछि गण्डकी सरकारले चालु आर्थिक वर्षमा सेवा सञ्चालन गर्ने गरी औषधालय स्तरोन्नति गरेको हो ।

अस्पताल भइसकेपछि होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वलाई प्राथमिकतामा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले तीन डाक्टर कार्यरत रहेका छन् । अस्पताल भवन भने साँघुरो रहेकाले नयाँ जग्गा व्यवस्थापन र भवन आवश्यक रहेको अस्पतालले जानएको छ ।