बागलुङ । बागलुङ नगरपालिका–७ तितौरे स्थित ७४ वर्षीया जन कुमारी कार्कीको घरको आँगनकै धारामा पानी खस्न थालेको जम्मा चार महिना भयो ।
वषौंदेखि खानेपानीको समस्या झेल्दै आएका तितौरेवासी दुई महिना यता घरको आँगनै पानी खस्दा दंग छन् । ७४ वर्षको उमेरमा घरमै खानेपानीको धारा आएकोमा जनकुमारी कार्की जस्ता यहाँका स्थानीय खुसी छन् । उहाँले घरकै आँगनमा पानीको धारा बन्ला भनेर आफूले कल्पना समेत नगरेको कार्कीको भनाई छ । ‘एक घर एक धारा’ कार्यक्रम अन्र्तगत जन कुमारीको घरमा खानेपानीको धारा निर्माण भएको थियो ।
“राती चार बजै घरदेखि आधा घण्टा टाढा पुगेर कुवाँको खानेपानी ल्याएको हिजो जस्तै लाग्छ, त्यसपछि टोलमै धारो आएको थियो, उक्त धारोमा समेत मानिसको भीड लाग्दथ्यो, मर्नेबेलामा घरको आँगनमै पानीको धारो खस्यो,अहिलेत खानेपानीका कारण बैकुण्ठ भएको छ, स्वर्ग भनेको यही होला” कार्कीले भन्नुभयो “कुँवाको पानी भर्ने म, अहिले घरमै निजी धारो हुँदा खुसीको सिमा छैन, पहिलेको खानेपानीको जोहोका कारण घरको अन्य काम नै प्रभावित हुँने गरेको थियो, खानेपानीको कारण समयमा खाना समेत नपाइने हुन्थ्यो”
जनकुमारी कार्की, शान्ता कार्की र श्याम बहादुर कार्की सहित तितौरेका २१२ घरमा हालै खानेपानीको धारा पुगेको छ । उनिहरुले घरमा रङ्गरोगन सहितको चिटिक्क परेको धारामा पानी खस्दा विकासको अनुभुती भएको बताउछन् ।
कुलबागा तितौरे खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष श्याम बहादुर कार्कीका अनुसार बहुवर्षे खानेपानी योजना अन्र्तगत तीन वर्षमै खानेपानी आयोजना सम्पन्न भएको बताउनुभयो । उहाँले स्थानीयको मेहनत र कार्यालयको रकमले खानेपानी ल्याउन सहज भएको बताउनुहुन्छ ।
“गाउँमा खानेपानीको समस्या थियो, २०३७ सालअघि कुलोमा पानी ल्याएर खाने गर्दथ्यौ, २०३७ सालमा लुर्थन संस्थाले १९ धारा निर्माण गरेको थियो, पछि विबाईसीले मर्मत गरेर १४ वर्ष टिक्यो पछिल्लो समय खानेपानीको समस्या थियो”कार्कीले भन्नुभयो “खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले तीन वर्ष लगाएर घर–घरमा खानेपानीको धारा पु¥याउन सफल भएको छ, स्थानीयले वितरणलाईन खन्नमा श्रमदान समेत गरेका थिए ।”
कुलबाग, धुवाखोला र तारेभिरको मुहानबाट पाँच हजार ५०० मिटर मुख्य पाइपलाईन, चार किमि वितरण पाईपलाइन, सातवटा संकलन ट्याङ्की, दुई वितरण च्याम्बर र २१२ घरमा धारा निर्माण गरिएको कार्कीको भनाई छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले तितौरे–माझकोट बाटुले खानेपानी योजना अन्र्तगत पहिलो चरणमा तितौरे गाउँभरी एक घर एक धारा पु¥याएको हो ।
क्रमश माझकोट र बाटुलेमा एक घर एक धाराको कार्य अन्तिम चरणमा सेमत पु¥याएको कार्यालयका सव ईन्जिनियर सुदिप आचार्यले जानकारी दिनुभयो । उहाँले २१२ घरमा खानेपानीको धारा पु¥याउन रु. एक करोड ३० लाख खर्च भएको बताउनुभयो । स्थानीयले वितरण लाईन खन्नमा श्रमदान गरेका थिए ।
