• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

जेनजीको आन्दोलनको मर्म नबिर्स

  • २०८२ कार्तिक १०, सोमबार

सम्पादकीय
मुलुुकले ऐतिहासिक दोस्रो जनआन्दोलन मार्फत् अभूतपूर्व परिवर्तन र उपलब्धि हासिल गरेको दुई दशकको अन्तरालमा फेरि अर्को अकल्पनीय आन्दोलन बेहो¥यो । भ्रष्टाचार र सामाजिक सञ्जाल माथिको नियन्त्रणको बिरोधमा भाद्र २३ मा गरिएको एक दिनको शान्तिपूर्ण आन्दोलनमा सरकारी चरम दमन, युवाहरुको क्रुर हत्याका कारण २४ गते आन्दोलनले थप हिंसात्मक रुप लियो । सरकारी, सार्वजनिक सम्पत्तिदेखि निजी र नेताहरुको घरहरु समेत आगजनी र तोडफोड गर्ने काम भयो । शान्तिपूर्ण आन्दोलनले विद्रोहको रुप लिए पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले राजीनामा दिन मात्र बाध्य भएनन्, उनीहरु सहित पूर्व प्रधानमन्त्री र नेताहरुको भागाभाग हुने परिवेश पैदा भयो ।

सरकारी पक्षबाट क्रुर दमन र हत्या, आक्रोशित प्रदर्शनकारीका तर्फबाट संसद भवन, सिंहदरबार, सर्वाेच्च अदालत लगायतका भौतिक संरचना ध्वंसले वर्तमान व्यवस्था नै धरापको अवस्थामा पुगेको थियो । यद्यपि, राजन्त्रात्मक शासन व्यवस्थाको पुर्नआगमन, सैनिक शासन, बैदेशिक हस्तक्षेपले तीव्र जोखिम र सन्त्रासका बाबजुद अन्तिम समयमा राष्ट्रपति रामचन्द्र पौडेलको कुशल नेतृत्व र रणनीतिले संविधानमा केही घाउ लागे पनि संविधान, वर्तमान व्यवस्था र सिंगो प्रणाली जोगियो । जेनजी विद्रोहबाट संविधानको खिलाफमा संसद बाहिरबाट पूर्व प्रधानन्यायधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम नागरिक सरकार बन्यो । उनीहरुले वर्तमान संवैधानिक व्यवस्था अनुसार नै सपथ खाएर कार्यभार सम्हालिरहेका छन् । अहिलेको सरकारलाई पनि विदेशको एजेन्ट, आइएनजीको सरकारको उपमा र आरोप भने लागिरहेको छ । त्यसका केही शंकास्पद गतिविधि घटनाक्रम र परिदृश्यहरु पनि देखा परेका छन् । जसबारे सरकारले आधिकारिक रुपमा भने केही प्रतिक्रिया जनाएको छैन ।

अहिले वर्षौदेखि सत्तामा बसेर रजगज चलाइरहेकाहरु बहिगर्मनमा छन् । अझ यसो भनौ उनीहरु किनारामा परेका छन् । जेनजी विद्रोहका केही दिन सम्म त यस्तो लाग्थ्यो कि अब पुराना शीर्ष नेताहरु टाउको उठाउने छैनन्, पुराना दलहरुलाई फेरि मूलधार र पुरानै लयमा फर्कन कयौं समय लाग्नेछ । तर, जेनजीहरु बिच बिभाजित मानसिकता, सरकारको अपरिपक्व गतिविधि लगायतका कारण राजनीतिक दल र तिनका नेताहरु आन्दोलनको एक महिनाकै बिचमा जुर्मुराइसकेका छन् । उनीहरुले जेनजी र उनीहरुको माग, चाहना अनुसार बनेको कार्की नेतृत्वको सरकार माथि धावा बोलिरहेका छन् । उनीहरुले आन्दोलनमा भाद्र २३ मा २२ जनाले बलिदान दिएको घटना बिर्साउने गरी २४ गते भएको ध्वंसको विषय जोडतोडले उठाइरहेका छन् । यो विषय उठाउनु आफैमा खराब होइन । तर, मुख्य कुरा आन्दोलनमा उदाउँदा युवाहरुको बलिदानीको विषयलाई ओझेलमा पार्ने नियत राखिनु सर्वथा गलत हुनेछ । यसले जेनजी आन्दोलनको असल भावना र मर्मलाई विषयान्तर गराउनेछ । वर्षौदेखि सत्ताको रजगज चलाएकाहरुको दम्भ, अंहकार र खराब प्रवृत्तिबाट नागरिक आजित बनिरहनु परेको अवस्थाबाट जेनजी विद्रोह भएको तथ्य कसैले बिर्सिने भुल नगरियोस् । अहिले जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै चरम दमन र ध्वंसमा संलग्न भएकाहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ । र मुलुकलाई अस्थिरता र भयग्रस्त अवस्थाबाट संविधान र प्रणालीलाई समय सापेक्ष फेरबदल गर्दै अघि बढाउने दिशामा सबैले सकारात्मक भूमिका खेल्नुपर्छ ।

  • २०८२ कार्तिक १०, सोमबार