• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनजनतालाई

म्याग्दी । धवलागिरी गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि धनजनता माध्यमिक विद्यालय मुना फलियागाउँले जितेको छ ।

२८ स्वर्ण पदकका लागि आइतबार देखि शुरु भएर मंगलबार सकिएको उक्त प्रतियोगितामा १३ स्वर्ण, पाँच रजत र तीन काँस्य पदक जितेर धनजनता माध्यमिक विद्यालयले उपाधि कब्जा जमाएको हो । धनजनताले यस अगाडीको पाँचौ राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको पनि उपाधि जितेको थियो ।

त्यसैगरी सात स्वर्ण, चार रजत र पाँच कास्य पदक जितेको ताकम माध्यमिक विद्यालय दोश्रो हुँदा दुई स्वर्ण छ रजत र छ काँस्य सहित हेम नमुना आवासिय माध्यमिक विद्यालयले तेश्रो स्थान हासिल गरेको धवलागिरी गाउँपालिकाको शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले ६० हजार, रनिङ शिल्ड ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी दोश्रो हुनेले ४० हजार र तेश्रो हुनेले ३० हजार नगद सहित ट्रफि प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । २८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा भलिबल तर्फ छात्रछात्रा गरी २ स्वर्ण र बाँकी २५ स्वर्ण पदक एथलेटिक्स बिधाका खेलमा रहेको थियो ।

एथलेटिक्स बिधा तर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चार गुण एक सय र चार गुण चार सय मिटरको रिलेदौड ट्रयाक तर्फ र फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपजम्प, ज्याभलिन थ्रो, सटपुट भएको थियो । प्रतियोगितामा शुरुमा भएको मार्चपासमा पनि धनजनता माध्यमिक विद्यालय मुना फलियागाउँ प्रथम हुँदै नगद १० हजार पुरस्कार जितेको थियो ।

धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डी र मार्सल आर्ट तर्फका खेल भने भएनन् । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा एथलेटिक्समा २६, भलिबल २, कबड्डी २ तथा मार्सल आर्ट तर्फका उसु १२, तेक्वान्दो १२ र कराँते १२ गरी ६६ स्वर्ण पदकका लागि जिल्ला, प्रदेश र केन्द्रीय स्तरमा प्रतियोगिता हुने गर्दछ ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को पाँचौं संसोधनको परिच्छेद १ को दफा २ को उपदफा (झ)मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भन्नाले चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष भन्दा मुनिका छात्रछात्राहरु बीच आआफ्नो समूहमा हुने प्रतियोगिता सम्झनु पर्दछ भन्ने उल्लेख छ । सोही अनुरुप सञ्चालित धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १२ विद्यालयले सहभागिता जनाएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो ।

प्रतियोगिताको हकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० ले दफा १४ को प्रतियोगिता सञ्चालन प्रकृयाको उपदफा १६ मा कार्तिक सम्म स्थानीय तह स्तरमा, पुस सम्म जिल्ला स्तर, माघ सम्म प्रदेश स्तर र फागुन सम्ममा केन्द्रीय प्रतियोगिता सञ्चालन गर्ने तोकिएको छ ।

स्थानीय तह स्तरीय प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडीहरु जिल्ला स्तरीय प्रतियोगितामा सहभागिताका लागि योग्य हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।