बागलुङ / एक–एक वर्षमा बागलुङ, पर्वत र म्याग्दीले गर्दै आएको महोत्सव यसपटक बागलुङ र पर्वतले एकै पटक गर्न थालेका छन् । आपसी छलफल र समन्वयको अभावमा महोत्सव जुझ्दा ओरालो लागेको व्यापारमा झनै असर पर्ने देखिन्छ ।
बागलुङ उद्योग वाणिज्य संघले यही पुस ११ देखि २१ गते सम्म सन्चालन गर्ने भएको छ भने पर्वत उद्योग वाणिज्य संघले यही पुस ९ गतेदेखि १९ गते सम्म सन्चालन गर्ने भएको छ । यसरी दुई नजिकको सदरमुकाममा एकैपटक महोत्सव लाग्दा दर्शक र ब्यापार दुबै घट्ने देखिन्छ ।
उद्योग वाणिज्य संघ बागलुङले यस पटक महोत्सव बाङ्गेचौर खेल मैदानमा आयोजना गर्ने भनेको छ जुन आफैमा चुनौतीपुर्ण छ । एक कार्यकालमा एउटा महोत्सव गर्ने नीति अनुसार यस पटक नयाँ ठाउँ बाङ्गेचौरमा महोत्सव आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिनुभयो ।
उहाँले महोत्सव गर्ने विषयमा छलफल भएको तर पुसमा बागलुङले गर्ने भएपछि पर्वतले माघमा गर्ने मौखीक सहमती भएपनि अध्यक्षले पुसमै गर्ने भनेको कुरा थाहा पाएको बताउनुभयो । शाक्यले महोत्सव जुझ्दा दुबै उद्योग वाणिज्यसंघलाई घाटा हुँने स्विकार गर्नुभयो ।
“पर्वतले माघमा गर्दै आएको थियो, हामीले पुसमा तर अहिले पर्वतले समेत पुसमा गर्ने भएछ त्यही पनि एउटै टेडमा” शाक्यले भन्नुभयो “एउटै समयमा महोत्सव गर्दा समस्या हुन्छ, हामीले पर्वत संग सल्लाह गर्छौ तर प्रस्तावनापत्र तयार गरेर बुझाएकाले मिति तलमाथि हुन्न ।”
अझैपनि समय भएको र पर्वतको महोत्सव केही पछि गर्ने विषयमा छलफल गर्ने बताउनुभयो । पर्वत उद्योग वाणिज्यसंघका अध्यक्ष ठाकुर बि पौडेलले बागलुङले एक वर्ष छिटो महोत्सव गरेको बताउनुभयो । उहाँले पर्वत र बागलुङको महोत्सव जुझ्दा समस्या हुने बताउनुभयो । तर दुबै उद्योग वाणिज्यसंघ आफ्नो निर्णयबाट पछि हट्ने अवस्थामा देखिदैनन् ।
