बागलुङ । बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्माको बसाइ तीन वर्षदेखि कालिका मन्दिरमा छ ।
तीन वर्षदेखि कालिका मन्दिर क्षेत्रलाई कलात्मक बनाउन व्यस्त हुनुहुन्छ । पछिल्लो समय मन्दिरलाई कलात्मक ढंगबाट पुननिर्माण गर्ने, मन्दिर आसपासका स–साना मठहरुलाई ताम्रापत्रले छाउने र पुननिर्माण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ ।
कालिका मन्दिर वरपर रहेको सत्तल, सचिवालय सहितका स–साना संरचना, मन्दिर तथा मठका झ्याल, तोरण, टुँडाल र ढोकामा बुट्टा भर्दै भिम बहादुरको तीन वर्ष बितिसकेको छ ।
सुन्दर काठका बुट्टावाला झ्याल ढोकाबाट कालिका मन्दिरलाई थप शुन्दर बनाइरहेको छ । भिम बहादुर अहिले कालिका मन्दिर परिसरको चण्डीदेविको पुननिर्माण गरिएको मन्दिरमा राख्ने आँखी झ्याल तथा टुडाल खोप्नमा व्यस्त हुनुहुन्छ ।
“कालिका मन्दिरमा तीन वर्ष पहिला हवन कुण्डलाई कलात्मक बनाउन आएको थिए, त्यस यता क्रमश गणेश मन्दिर, सक्तल, सचिवालयका झ्याल तथा ढोकालाई कलात्मक बनाए, मन्दिर परिसरमा अकलादेविको मन्दिर पुननिर्माण सकेर अहिले चण्डीदेविको मन्दिरमा प्रयोग आउने काठका सामाग्री बनाउदै छु” विश्वकर्माले भन्नुभयो “तीन वर्षमा कालिका मन्दिर क्षेत्रका छ वटा मठमन्दिर तथा अन्य भौतिक संरचनामा काठबाट कुँदेका सामाग्री राखेर निर्माण गरिएको छ ।”
विश्वकर्माले तामाले मठ मन्दिर समेत छाउदै आउनुभएको छ । झ्याल तथा टुडाल खोप्न मेहन र समय उत्तिकै लाग्ने उहाँको अनुभव छ । मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काष्ठकलामा संलग्नले काठमा पोखेको कलामा नेपाली सभ्यता र संस्कृति झल्काउन भिम बहादुरले ठूलो योगदान गरिरहनुभएको छ ।
पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको समयमा काष्ठकला पुस्तान्तरण समेत हुन नसक्दा कलाकारको मात्र होइन, काठबाट निर्माण गरिएका सामग्री अभाव हुन थालेको समयमा भिम बहादुर काष्ठकलामा जीवन भर्न व्यस्त हुनुहुन्छ ।
खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग न्यूनरुपमा गर्न थालेको बताउदै विश्वकर्माले पूर्खाको पेसालाई जिवन्त दिएको बताउनुहुन्छ ।
कालिका मन्दिरलाई कलात्मक बनाउने काष्ठकलाको जिम्मा ६३ वर्षीया विश्वकर्माले लिनुभएको छ । विश्वकर्माको जीवन काष्ठकलामै बित्यो । आफ्नो सात पुस्तादेखि नै मुख्य पेसा काष्ठकला नै रहेको उनी बताउँछन् । बुवा मोतिलाल विश्वकर्माले विभिन्न मन्दिरको टुँडाल तथा भगवान्का आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि विश्वकर्मा काष्ठकलातर्फ आकिर्षत भएको उहाँको भनाई छ । कालिका मन्दिरको हवन कुण्ड, चण्डीदेवि, अकलादेखि शिवालय मन्दिर र गणेश मन्दिरका लागि आवश्यक टुँडाल, आँखीझ्याल तथा विभिन्न भगवान्का आकृति तयार गर्न विश्वकर्मा पोख्त हुनुहुन्छ ।
काष्ठकलासहित तामाले छाउने कार्यको समेत ज्ञान उहाँमा छ । उहाँले काठलाई विभिन्न घरेलु औजारले महिनौँ कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आएका आउनुभएको छ ।
“सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुडाँल कालिका मन्दिरमा छन्, बुवा बित्नु भएकै २३ वर्ष बित्यो” उहाँले भन्नुभयो “काष्ठकलामा कालिका मन्दिर अघि देखिन थाल्यो, मन्दिरमा बन्ने अनेकौ संरचना काठका विभिन्न आकृतिबाट निर्माण थालिएको छ ।”
विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा राजाको दरबार, मठ–मन्दिरलगायतमा काष्ठकलाको काम गर्नुभएको छ ।
सानैदेखि बुवासँग काष्ठकलाको काम सिकाले अहिले सहज भएको विश्वकर्माको भनाइ छ । पछिल्लो समय कृत्रिम र विद्युतीय उपकरकणको सहायताले काष्ठकलाको काम थालिएको छ । घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्व रहेको उहाँको भनाई छ
