• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

गलकोटका स्थानीयद्वारा सडक कालोपत्रको माग

  • २०८२ मंसिर ७, आईतवार

बागलुङ । बागलुङको गलकोट नगरपालिका ५ को बसाहफाँट देखि भैंसे, आँगाखेत, मल्म, पाण्डवखानी, रणसिंहकिटेनी सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले ध्यानाकर्षण गराएका छन ।
मल्म, पाण्डवखानी, रणसिंहकिटेनी खण्ड सडक सञ्चालनमा आएको लामो समय बिति सक्दा समेत सडक स्तरोन्नतिको कार्यले गति नलिएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराईएको हो ।

सो सडक खण्ड अन्तर्गत कालोपत्रेको लागि २ वर्ष पहिले देखि काम सुरु भएता पनि यस आर्थिक वर्षको मंसिर लाग्दा समेत सडक स्तरोन्नतिको काम सुरु नभएको भन्दै गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष राज बहादुर थापा र निर्माण कम्पनी लो–पूर्ण कन्स्ट्रक्सन प्रालिलाई ध्यानाकर्षण गराईएको खडग कालिका टोल विकास संस्थाका अध्यक्ष छुम बहादुर थापाले जानकारी दिनुभयो । केही सडक ग्रावेल भएता पनि बाँकी सडक स्तरोन्नति नहुँदा हिउँदमा धुलैधुलो, बर्खामा हिलैहिलो, खाल्डा खुल्डी र पक्की नाली नहुँदा सवारी साधनलाई आवागमनमा समस्या भएको छ ।

सरोकारवाला निकायको बेवास्ता र लापरबाहीले विनियोजित बजेट सही सदुपयोग हुन नसकेको भन्दै ध्यानाकर्षण गराईएको सरल टोल विकास संस्थाका अध्यक्ष सुवेदार मिन बहादुर थापाले बताउनु भयो ।

सडक स्तरोन्नतिका लागि तत्काल ठोस पहल थाल्न स्थानीयले आग्रह गरेका छन । स्थानीयहरूको तर्फबाट राष्ट्रिय कलाकार विष्णु खत्री, पत्रकार थम्मन थापा सन्देश, राष्ट्रिय जनमोर्चा वडा कमिटी अध्यक्ष दल बहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष जीवन साहानी, समाजसेवी केहरसिंह थापा, कृष्ण थापाले तत्काल सम्बन्धित कार्यालय, जनप्रतिनिधी, ईन्जिनियर र निर्माण कम्पनी सहितको अन्तरकृया गरि तत्काल निर्माण कार्यलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।

त्यसैले आवश्यक स्तरोन्नतिको कार्यमा आवश्यक समन्वय, सहजीकरण सहित खबरदारी गर्न स्थानियहरु एकजुट हुने समेत प्रतिवद्वता जनाएका छन । संघीय सरकार अन्तर्गतको बजेट मार्फत ठेक्का भएर केही स्थानमा काम जारी रहे पनि सुस्त गतिमा काम भईरहेको भन्दै स्थानियले ध्यानाकर्षण गराएका हुन् ।

स्थानियको मागलाई सम्बन्धित निकायमा आवश्यक समन्वय र सहजीकरण गर्न आफूहरु प्रतिवद्व रहेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो ।

  • २०८२ मंसिर ७, आईतवार