बागलुङ । विविध कार्यक्रम गरेर बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने भएको छ । आइतबार बागलुङ नगरपालिकाको आयोजनामा बसेको सरोकारवालाको बैठकले २५ नोभेम्बर मंसिर ९ गतेदेखि १० डिसेम्बर मंसिर २४ गतेसम्म विविध कार्यक्रमको आयोजना गरेर मनाउने निर्णय गरेको हो ।
बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंसिर ९ गते विहान प्रभातफेरी सहित सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख एवं अल्पकालिन सेवा केन्द्र व्यवस्थापन समितिकी सदस्य सचिव रचना आचार्यले जानकारी दिनुभयो ।
१० गतेदेखि बागलुङ नगरपालिकाको आयोजनामा नगरपालिकाका १४ वटै वडामा फरक फरक दिन सचेतनामुलक कार्यक्रम गरिने भएको छ । अन्तिम १६ औँ दिनका दिन मंसिर २४ गते समिक्षा सहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर अभियानको समापन गरिने भएको छ ।
लैंङ्गिक हिंसा सचेतना सम्बन्धी विद्यालयका शिक्षकलाई अभिमूखिकरण कार्यक्रमको आयोजना गर्ने र शिक्षकलाई विद्यालयमा लैंङ्गिक हिंसा सम्बन्धी कार्यक्रम गर्ने गरि तयार गर्ने निर्णय गरिएको छ । यो सँगै विभिन्न संघ संस्था, महिला सञ्जाल र सहकारीले समेत विविध कार्यक्रमको आयोजना गरेर अभियान सञ्चालन गर्ने भएका छन् ।
