बागलुङ । नेकपा एमालेको एघारौ महाधिवेशनका लागि बागलुङबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिका लागि आवेदन आव्हान गरिएको छ ।
बागलुङका २ संघीय निर्वाचन क्षेत्रबाट चयन हुने ११ जना प्रतिनिधिका लागि आवेदन दिन निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. १ र २ ले आव्हान गरेका हुन् ।
एमालेले संघीय निर्वाचन क्षेत्रबाट १२ सय जना प्रतिनिधि बराबर एक युवा, एक महिला र २ खुल्ला गरी ४ जना र बढी सदस्य भएको ठाउँमा थप प्रतिनिधि हुने व्यवस्था गरेको छ ।
क्षेत्र नं. १ मा एमालेका ३ हजार १८१ जना सदस्य रहेका छन् । ति सदस्यबाट एक युवा, २ महिला र ३ खुल्ला गरी ६ जना प्रतिनिधि चयन हुनेछन् । यस्तै क्षेत्र नं. २ मा १ हजार ५२९ जना संगठित सदस्य रहेका छन् । ति सदस्यबाट एक युवा, एक महिला र २ खुल्ला गरी ४ जना प्रतिनिधि चयन हुनेछन् । दलित तर्फ जिल्ला भुगोलबाट एक जना प्रतिनिधि चयन हुने एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।
जिल्लाका दुइ निर्वाचन क्षेत्रबाट १० र दलित १ गरी ११ जनाका लागि इच्छुक सदस्यहरुबाट मंसिर १० गते आवेदन आव्हान गरिएको जिल्ला उपसचिव तथा निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. १ का संयोजक धन बहादुर परियारले जानकारी दिनुभयो । मंसिर १० गते बुधवार ११ बजेदेखि शुरु हुने बैठक लगत्तै प्रतिनिधि बन्न इच्छुकहरुका लागि आवेदन आव्हान गरिएको परियारले बताउनुभयो । बैंठक लगत्तै इच्छुकहरुबाट आवेदन लिन्छौ, त्यसपछिका २ दिनमा सर्वसम्मतीका लागि छलफल हुन्छ, सर्वसम्मत हुन नसकेमा मंसिर १३ गते दुवै क्षेत्रमा निर्वाचन हुन्छ, परियारले भन्नुभयो ।
क्षेत्र नं. १ का लागि होटल द राजन र क्षेत्र नं. २ का लागि ग्वालीचौर कभर्डहलमा वैठक आव्हान गरिएको छ । दलिततर्फ जिल्लाभरीबाट एक जना प्रतिनिधि चयनका लागि मंसिर ११ गते जिल्ला पार्टी कार्यालयमा आवेदन माग गरिने भएको छ । बागलुङ जिल्लाबाट केन्द्रीय सदस्य रहेका ८ जना स्वत महाधिवेन प्रतिनिधि हुनेछन् भने भुगोलतर्फबाट ११ जना सहित १९ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । अन्य निकाय, विभाग र जनवर्गिय संगठन, सल्लाहकार परिषदबाट पनि उमेदवार हुन सक्ने व्यवस्था छ ।
महाधिवेशन प्रतिनिधिका लागि पार्टीका प्रदेश, जिल्ला र पालिका कमिटिको नेतृत्वमा रहेकाहरु इच्छुक रहेको बताइन्छ । एमालेको एघारौ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदैछ । एमालेको आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि जिल्लाबाट प्रतिनिधि छनोटमा समेत दुवै समुहको रस्साकस्सी हुने संभावना रहेको छ ।
