• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday

एमाले महाधिवेशन प्रतिनिधिका लागि बागलुङमा ३९ जनाको दावी

बागलुङ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने ६ जना महाधिवेशन प्रतिनिधिका लागि ३९ जनाले आवेदन दिएका छन् ।

निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. १ बागलुङले बुधवार आयोजना गरेको बैठकमा ३९ जनाले दावी प्रस्तुत गरेका हुन् । क्षेत्र नं. १ बाट खुल्लातर्फ ३ जना प्रतिनिधिका लागि २२ जनाले दावी प्रस्तुत गरेका छन् । यस्तै महिलातर्फ २ जनाका लागि ७ जना र युवातर्फ एक जनाका लागि १० जनाले दावी प्रस्तुत गरेको निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. १ का संयोजक धन बहादुर परियारले जानकारी दिनुभयो ।

खुल्लातर्फ जिल्ला अध्यक्ष हिरा बहादुर केसी, पूर्व अध्यक्ष जनक पौडेल, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक, संविधानसभा सदस्य नर बहादुर थापा सहित २२ जनाको दावी छ । दावी गर्नेहरुमा लिला राना, नवराज पौडेल, अमर थापा, ध्रुव बहादुर केसी, गणेश बहादुर थापा, लाल बहादुर थापा, शिव प्रसाद सापकोटा, डिल बहादुर कार्की, भूपेन्द्र खड्का, रामकृष्ण शर्मा, बाबुलाल शाक्य, भरत पुरी, हरिनारायण गौतम, हिमाल प्रसाद शर्मा, रुद्र बहादुर केसी, खेमराज सापकोटा र सञ्जय कुमार श्रेष्ठ रहनु भएको छ ।

यस्तै २ जना महिला प्रतिनिधिका लागि गिता शर्मा, ममतादेवी शर्मा, हुमा कुमारी जि.सी.(अञ्जु), सरस्वती खड्का परियार, चित्रा श्रीस, हुमादेवी खड्का र कालिका सापकोटाले दावी प्रस्तुत गर्नु भएको छ ।

एक क्षेत्रबाट ४० वर्ष मुनीका एक जना युवा प्रतिनिधि हुने व्यवस्था रहेको छ । एक जना युवा प्रतिनिधिका लागि सिर्जना पन्त, प्रेम बहादुर केसी, शिव प्रसाद शर्मा, राजु गौतम, सञ्जाल शर्मा (कृष्णराज पौडेल) रमेश बहादुर केसी, बुद्ध बोहरा, शेखर खड्का, सन्दिप कंडेल र तिलक खड्काको दावी परेको छ ।

तीन वटै कलष्टरमा दावी प्रस्तुत गरेकाबीच छलफल गरी सर्वसम्मत गराउने प्रयास गरिने जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो । मंसिर १२ गतेसम्म सर्वसम्मतीका लागि प्रयास हुन्छ, अध्यक्ष केसीले भन्नुभयो,–‘सहमति भए राम्रो भयो, सहमति भएन भने १३ गते मतदान हुन्छ ।’ एमालेले संघीय निर्वाचन क्षेत्रबाट १२ सय जना प्रतिनिधि बराबर एक युवा, एक महिला र २ खुल्ला गरी ४ जना र बढी सदस्य भएको ठाउँमा थप प्रतिनिधि हुने व्यवस्था गरेको छ ।

क्षेत्र नं. १ मा एमालेका ३ हजार १८१ जना सदस्य रहेका छन् । ति सदस्यबाट एक युवा, २ महिला र ३ खुल्ला गरी ६ जना प्रतिनिधि चयन हुनेछन् । यस्तै क्षेत्र नं. २ मा १ हजार ५२९ जना संगठित सदस्य रहेका छन् । ति सदस्यबाट एक युवा, एक महिला र २ खुल्ला गरी ४ जना प्रतिनिधि चयन हुनेछन् । दलित तर्फ जिल्ला भुगोलबाट एक जना प्रतिनिधि चयन हुने एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. २ ले मंसिर ११ गते ग्वालीचौर कभर्डहलमा वैठक आव्हान गरेको छ । वैठकमा प्रतिनिधि हुन चाहनेहरुबाट दावी माग गरिने एमाले बागलुङका उपसचिव तथा निर्वाचन क्षेत्र समन्वय कमिटिका संयोजक करमती पुनले जानकारी दिनुभयो । दलिततर्फ जिल्लाभरीबाट एक जना प्रतिनिधि चयनका लागि मंसिर ११ गते जिल्ला पार्टी कार्यालय बागलुङ बजारमा आवेदन माग गरिने भएको छ ।

बागलुङ जिल्लाबाट केन्द्रीय सदस्य रहेका ८ जना स्वत महाधिवेन प्रतिनिधि हुनेछन् भने भुगोलतर्फबाट ११ जना सहित १९ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । नेकपा एसबाट एमाले प्रवेश गरेका नेता श्रीप्रसाद शर्मालाई एकीकरण प्रक्रिया मार्फत राष्ट्रिय प्रतिनिधिका लागि प्रस्ताव गरि पठाइएको जिल्ला अध्यक्ष केसीले बताउनुभयो ।

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ सम्म हँुदैछ । २७ गते उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा र बन्दसत्र काठमाडौमा हुने एमालेले जनाएको छ ।

एमालेको आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि जिल्लाबाट प्रतिनिधि छनोटमा समेत दुवै समुहको रस्साकस्सी हुने संभावना रहेको छ ।