• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

आइतबारदेखि बागलुङमा सर्वाधिक पुरस्कारकोे राशीको ‘मेयर कप’

  • २०८२ मंसिर १३, शनिबार

बागलुङ । बागलुङमा सर्वाधिक पुरस्कार पुरस्कार राशीको ‘मेयर कप’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पालिकाले आयोजना गरेको प्रतियोगितामा उक्त पुरस्कार अहिले सम्मकै सर्वाधिक रहेको छ ।

बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा  मङ्सिर १४ देखि १८ गतेसम्म सञ्चालन गर्नेगरी रु. तीन लाख ३३ हजार राशिको पुरस्कार सहित ‘मेयर कप’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकाले मेयकप मार्फत बागलुङलाई फुटवलका हिसाबले चिनाउन खोजेको बताउनुभयो ।

“खेलकूदको हव बनाउने हो हाम्रो बागलुङ जिल्लालाई, विगतका वर्षमा रोकिएको मेयरकप यस वर्ष भव्य रुपमा गर्न थालिएको छ” श्रेष्ठले भन्नुभयो “खेलाडी उत्पादन, पर्यटन प्रर्बद्धन सहित बागलुङ नगरपालिकाको नाम चिनाउन फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।”
बागलुङ नगरपालिका वडा १ रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा खेल संयोजक सुदीप गौतमले बताउनुभयो । नेपाली सेना, गण्डकी प्रदेश प्रहरी सहित १० टिम प्रतियोगितामा सहभागी हुने गौतमले जानकारी दिनुभयो । उहाँले रु. २० लाख लागतमा मेयरकप आयोजना गर्न थालेको बताउनुभयो ।

संयोजक गौतमका अनुसार आयोजक बागलुङ नगरपालिकाले निलो र सेतो गरी दुई टिम सहभागिता जनाउने छ । यस्तै प्रतियोगितामा नेपाल प्रहरी गण्डकी प्रदेश, कालिजंग गण घोणबाधे, जैमिनी नगरपालिका, पैयु गाउँपालिका, जलजला गाउँपालिका, बेनी नगरपालिका, गलकोट नगरपालिका, कटारी नगरपालिका सहभागी हुँदैछन् । बागलुङ नगरपालिकाले २०७६ सालमा दोस्रो मेयर कप गरेपछि स्थगित भएको मेयर कप फुटबल प्रतियोगिता यस वर्षदेखि पुन तेस्रो मेयरकप आयोजना गरिएको गौतमले बताउनुभयो ।

प्रतियोगिताको विजेता टिमलाई रु.३ लाख ३३ हजार ३३३ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ । उपविजेतालाई रु.२ लाख २ हजार २२२ पुरस्कार प्रदान गरिनेछ, भने सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई १० हजारका दरले पुरस्कार प्रदान गरिने संयोजक गौतमले जानकारी दिनुभयो ।

यसैबीच, आगामी पुसको पहिलो साता बागलुङमा गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको संयोजनमा गण्डकी प्रदेश सरकारले खेल खेलाउने भएको हो ।

प्रतियोगितामा रु. २० लाख बजेट नगरपालिकाले विनियोजन गरेको जनाएको छ । नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलननको स्वागत धन प्रसाद पोखरेलको थियो भने अध्यक्षता नगर खलेकुद विकास समितिका संयोजक सुरज बोसेलले गर्नुभएको थियो ।

  • २०८२ मंसिर १३, शनिबार