• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

कांग्रेसको महाधिवेशन तय, वडा अधिवेशन पुस १६ गते

  • २०८२ मंसिर १५, सोमबार

बागलुङ ।  नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुने भएको छ । डेढ महिनादेखि विशेष महाधिवेशन कि नियमित महाधिवेशन, चुनाव अगाडि कि पछाडि भन्ने रस्साकस्सीमा वैठक सार्दै आएको कांग्रेसको सोमबारको वैठकले पुस अन्तिमसाता महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

नेपाली कांग्रेसको संस्थापन पक्ष महाधिवेशनको मिति लम्ब्याउने तयारीमा थियो, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सहयोगमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेपछि संस्थापन पक्ष दवावमा थियो ।

जेन जी आन्दोलनपछि पूर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका सभापति शेर बहादुर देउवा पक्षधरले विशेष महाधिवेशन नगर्ने, नियमित महाधिवेशन चुनाव पछि गर्ने गरी सम्वाद चलाइरहेका थिए, विशेष महाधिवेशन पक्षधरको निरन्तरको दवावपछि अन्तत संस्थापन पक्ष चुनाव अगाडि नै नियमित महाधिवेशन गर्न तयार भएको छ ।

नेपाली कांग्रेसको महाधिवेशन वडा अधिवेशनबाट शरु हुने गर्दछ । महाधिवेशनका लागि मंसिर २० गतेभित्र नयाँ क्रियाशिलल सदस्य केन्द्रबाट वितरण गरिसक्ने, २४ गतेसम्म जिल्लाको प्रतिनिधिसभा, क्षेत्रीय समिति हुदै वडासम्म नयाँ क्रियाशिल सदस्यको फाराम पठाउने, पुस ८ गते भित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशिल सदस्यताको काम सक्ने गरी कार्यतालिक तयार भएको छ ।

क्रियाशिल सदस्यताको प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशिल सदस्यता केन्द्रीय छानविन समितिमा नया र नविकरण सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी अन्तिम सूचि केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउनु पर्नेछ ।
नयाँ क्रियाशिल सदस्यता वितरण गर्दा समावेशीता, नवयुवा पुस्ता, अन्य पार्टीबाट आएका नव प्रवेशीलाई समेत क्रियाशिल सदस्यता दिने व्यवस्था कांग्रेसले गरेको छ ।

क्रियाशिल सदस्यता टुंग्याएसंगै महाधिवेशन प्रक्रिया अगाडि बढ्ने भएको छ । पुस १५ गते विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन, १६ गते गाउँ नगर र वडा अधिवेशन, १७ गते गाउँ नगरपािलका अधिवेशन, १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, २२ गते एक भन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन, २४ र २५ गते प्रदेश अधिवेशन तथा पुस २६, २७ र २८ गते महाधिवेशन गरिने नेपाली कांग्रेसका प्रवक्ता डा।रामशरण महतले जानकारी दिनुभएको छ ।

सभापति देउवा असोज २८ गते केन्द्रीय समितिको वैठक शुभारम्भ गरेर उपचारका लागि विदेश जानु भएको थियो । त्यसयता डेढ महिनाको समय नेपाली कांग्रेसको संस्थापन र संस्थापन इतर पक्षबीच विशेष महाधिवेशन कि नियमित महाधिवेशन, चुनाव अगाडि कि पछाडि महाधिवेशन भन्ने विषयमा सहमति नहुदा बैठक सर्दै आएको थियो ।

अन्तत :सभापति देउवाकै अग्रसरतामा नियमित महाधिवेशन तय भएको छ । नियमित महाधिवेशनको मिति घोषणासंगै विशेष महाधिवेशनको माग निष्क्रिय भएको छ ।

  • २०८२ मंसिर १५, सोमबार