म्याग्दी । बेनी नगरपालिका ८ मा रहेको न्यू वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले लगातार दोश्रो पटक छात्रा फुलबल प्रतियोगिताको उपाधि उचालेको छ ।
लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा भएको दोस्रो लायन्स कप अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधिमाथि लगातार दोश्रो पटक कब्जा जमाएको हो । शनिबार सम्पन्न भएको फाइनलमा बेनी नगरपालिका ७ को प्रकाश माविलाई १–० ले पराजित गदैं न्यू वेष्ट पोइन्ट च्याम्पियन बनेको हो ।
न्यू वेष्ट पोइन्टलाई च्याम्पीयन बनाउन सरिता पटेलले खेलको दोस्रो हाफपछि एक गोल गर्नुभएको थियो । प्रकाश माविको बलियो डिफेन्सलाई चिर्दै दोश्रो हाफमा न्यू वेष्ट पोइन्टले गरेको एक गोल नै च्यम्पीयन बन्न प्रयाप्त भएको थियो ।
प्रतियोगिताका बिजेता उपविजेता, अनुसासित टिम तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पूर्व उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा, लायन्स क्लब अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ आई नेपालकी डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, मुख्य प्रायोजक द रियल म्याग्दी अष्टेलियाका प्रतिनिधिले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको विजेता र उपविजेतालाई क्रमशः नगद ४० हजार, उपविजेता २५ हजार रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको अनुशासित टिम बेनी सामुदायिक माविलाई ५ हजार रुपियाँ नगद तथा ट्रफि प्रदान गरिएको थियो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी न्यू वेष्ट प्वाइन्टकी काब्याश्री बानियाँ, उत्कृष्ट गोलरक्षक न्यु वेष्ट पोइन्टकै रिदिमा भट्टचन, उत्कृष्ट मिडफिल्डर न्यू वेष्ट पोइन्टकी समिक्षा घर्ती, सर्वाधिक गोलकर्तामा न्यू वेष्ट प्वाइन्टकी सरिता पटेल भएका थिए ।
त्यसैगरी उत्कृष्ट डिफेन्डरमा वेष्ट प्वाइन्टकी कप्तान प्रमिशा बानियाँ, उत्कृष्ट स्ट्राइकर प्रकाश माविकी समिक्षा दर्जी, उत्कृष्ट प्रशिक्षक वेष्ट प्वाइन्टका दिपेन राई र राइजिङ प्लेयर प्रकाश मावि अञ्जली सिर्पालीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
