• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

खर्च घटाउन बागलुङका दुई कार्यालयको सेवा एकिकृत

  • २०८२ मंसिर २१, आईतवार

बागलुङ । गण्डकी प्रदेश सरकार अन्र्तगतका दुई कार्यालयले बागलुङ सदरमुकामबाट एकिकृत सेवा दिन थालेका छन् । गण्डकी प्रदेश सरकारको निर्णय बमोजिम दुई कार्यालय एकै ठाउँमा गाभिएर एकिकृत सेवा कार्यालयको रुपमा सञ्चालन गरिएको छ ।

प्रदेश सरकार मातहतमा रहेको उद्योग तथा पर्यटन कार्यालय बागलुङ र सामाजिक विकास कार्यालय बागलुङ गाभिए पश्चात एकिकृत रुपमा सेवा कार्यालय बागलुङको रुपमा संचालन गरिएको छ । एकिकृत कार्यालय साविकको उद्योग पर्यटन कार्यालयबाट संचालन गरिएको कार्यालय प्रमुख पारसिंङ थापाले जानकारी दिनुभयो ।

कार्यालयको बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले औपचारिक शुभारम्भ गर्नुभएको थियो । गुरुङले सेवा लिन आएका सेवाग्राहीको उद्योग दर्ता तथा नविकरणको सिफारिस प्रदान गरेर सेवा सुचारु गर्नुभएको थियो । प्रदेश सरकारले मितव्ययीता कायम र सेवा प्रवाहलाई प्रभावकारी बनाउनका निम्ती कार्यालयहरु गाभेर एकिकृत गरेको हो ।

एकिकृत सेवा कार्यालयले उद्योग, पर्यटन तर्फ दर्ता नविकरण, तालिम संचालन पर्यटकिय क्षेत्रमा पुर्वाधार निर्माण लगायतका कार्य गर्ने छ भने सामाजिक विकास तर्फबाट लक्षित वर्गका कार्यक्रम संचालन र विद्यालय मठमन्दिर लगायतका क्षेत्रको पूर्वाधार निर्माण लगायतका काम हुनेछन । हाल साविकको उद्योग पर्यटन कार्यालयबाट मुख्य काम काज संचालन गरिएता पनि साविकको सामाजिक विकास कार्यालयमा सामाजिक विकास तथा शिक्षा शाखा संचालन गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।

कार्यालय एउटै भएता पनि प्रदेश मन्त्रालय भने दुई वटा रहेका छन । प्रदेश सरकार उद्योग पर्यटन मन्त्रालय र सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय रहनेछ । गत साउनमा प्रदेश सरकारले विभिन्न ७ वटा निर्देशनालय खारेज गर्ने र ३२ वटा कार्यालयहरूलाई एक आपसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो ।

  • २०८२ मंसिर २१, आईतवार