• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

नेताको आड नपाएका बागलुङका हिरालाई प्रतिनिधिको भर

  • २०८२ पुष १, मंगलवार

बागलुङ  । विद्यार्थी राजनीतिबाट उदाएका एमालेका युवा नेता हिरा बहादुर केसी यतिबेला केन्द्रीय सदस्यका उमेदवार छन् । नेकपा एमालेको एघारौ महाधिवेशनमा केपी शर्मा ओली र इश्वर पोखरेल अध्यक्षका प्रत्यासी छन्, दुवैका आ–आफ्नै समुह छन् । तर बागलुङका हिरा बहादुर केसी दुवै समुहबाट नभई पार्टी भित्रका मझ्धार अर्थात स्वतन्त्र रुपमा उमेदवार छन् । त्यसो त केसी एमालेको नवौ महाधिवेशनमा पनि माधव नेपाल र केपी शर्मा ओलीले समुहगत प्यानलमार्फत निर्वाचनमा होमिदा पनि स्वतन्त्र उमेदवार थिए । त्यतिबेला र अहिलेको स्थिति फरक छ, त्यो बेला दुइ नेताका जवरजस्त गुट थिए, गुट बनाएर निर्वाचन लड्ने कामले पार्टीलाई हित गर्दैन भन्ने कुरा त्यस यताको ११ वर्षमा धेरैले बुझेका कारण पनि यस पटक पुनः स्वतन्त्र तरिकाले उमेदवारी दिएको केसीको भनाइ छ । दशौ महाधिवेशनमा पनि केसीले उमेदवारी दिने तयारी गरेका थिए, तर अध्यक्ष ओलीले लिष्ट घोषणा गरेपछि उनले उमेदवारी दिएनन् ।

एमालेको महाधिवेशनका प्रतिनिधिहरु साच्चिकै विवेकशिल छैनन्, त ? एमालेका एक महाधिवेशन प्रतिनिधिले भने, गुटको नामलिष्ट बोकेर मतदान गर्न जान्छन्, अनि त्यहा जो छ, त्यसलाई नै मतदान गर्ने भएकाले योग्य भन्दा पनि गुटको बफादार मान्छे पदमा पुग्ने गरेका छन् । के साच्चिकै त्यही भएका कारण हिरा केसीहरु पछि पर्दै गएका हुन् भन्ने प्रश्नमा उनले थपे, सबै त्यस्तो होइन, तर व्यक्तिको योगदान, क्षमता, उसको भुगोलको अवस्था, निरन्तरता, क्रियाशिलता, सिर्जनशिलता केही नहर्ने, खाली गुटको प्यानलमा भएको नाम हेर्ने गरेका कारण धेरै योग्य मान्छेहरु ओझेल परेका छन् ।

हिरा केसी बागलुङको काठेखोला गाउँपालिका वडा नं ३ धम्जा निवासी हुन्, उनको वडा साविकको धम्जा गाविस २०४६ को परिवर्तन पछि अहिलेसम्म एमालेको किल्लाका रुपमा स्थापित छ । अरु सबै पार्टी एकतावद्ध हुदा पनि धम्जा एमालेको किल्ला नै बन्दै आएको छ । भुगोल ठिक छ, विद्यार्थी संगठनको जिल्ला, अञ्चल, विकासक्षेत्र हुदै केन्द्रीय कोषाध्यक्ष बने, युवा संघको जिल्ला हुदै केन्द्रको उपाध्यक्ष बने, पार्टीमा जिल्ला सदस्य हुदै, उपसचिव, २ पटक जिल्ला अध्यक्ष बने । धौलागिरी बहुमुखी क्याम्पसको स्ववियू सभापति जिते, जितेनन् मात्र आफु पछि गोविन्द नेपालीलाई पनि जिताए ।

२०५६ को आम निर्वाचनमा रामजी प्रसाद शर्माका प्रमुख प्रचारक थिए, कमाण्डर नै थिए, चुनावको मतपेटिका लिएर सदरमुकाम आउदा खुकुरी प्रहार भयो, २०६४ को संविधानसभा निर्वाचनमा रामजी शर्माको निर्वाचन परिचालनको कमाण्डर थिए, रामजी जितेर मन्त्री भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा आफै उमेदवार भए, पराजित भए, २०७१ को उपनिर्वाचनमा टिकट पाएनन्, प्रचारमा खटिए, २०७४ मा पनि टिकट पाएनन्, प्रचारमा खटिए, २०७९ मा प्रदेशसभाको निर्वाचनमा उमेदवार भए, पराजित भए । केसीले गर्न चाही अब के पर्ने हो ? पार्टीको केन्द्रीय सदस्य बन्नका लागि ? उनले स्ववियूमा आफु पछि सभापति बनाएका गोविन्द नेपाली तेस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा भिड्दैछन्, उनी भन्दा पछि राजनीतिमा जोडिएका धेरै मान्छे केन्द्रीय सदस्य मात्रै होइन, पार्टी र राजकीय विभिन्न पदमा पुगेका छन् ।

फेरी पनि केसीलाई केन्द्रीय सदस्य हुन किन हम्मे हम्मे पर्छ, जहिले पनि उमेदवार हुने मात्र किन हुन्छ ? यसको एउटा मात्रै कारण छ, उनी नेताहरुको खास मान्छे बन्न सकेनन्, एमालेका एक जिल्ला सदस्यले भने, हिरा केसीको स्पष्ट बोल्ने, कसैको खास नबन्ने बानीले उनलाई अगाडि बढ्न दिएनन्, एमालेमा कुनै नेताको फेरो नसमाती नेता हुनै सकिदैन, उनको ठोकुवा छ । त्यसो भए, के सधै हिराहरु बाहिर नै बसेर साथ दिनु पर्ने हो त ? उनले भने, त्यसैले हिराले फेरी एक पटक महाधिवेशन प्रतिनिधिहरुका बीचमा आफुलाई उभ्याउने प्रयास गरेका छन्, यस पटक महाधिवेशन प्रतिनिधिले अवस्य साथ दिन्छन् भन्नेमा उनी पूर्ण विश्वस्त पनि छन् ।

महाधिवेशन प्रतिनिधिहरुले उमेदवारहरुको योग्यता, क्षमता हेर्ने, उसले पार्टी निर्माणमा गरेको योगदान हेर्ने, उसको भुगोलको अवस्था बुझ्ने हो भने हिराहरु हार्नु पर्ने कुनै कारण छैन, तर गुट चिट बोक्ने र त्यही नाम हेरेर मतदान गर्ने प्रवृतिका कारण हिरा लगायत भुगोलमा दुख गरेकाहरु पछि पर्ने अवस्था सिर्जना भएको छ । एघारौ महाधिवेशनका प्रतिनिधिहरुले आफ्नो विवेक प्रयोग गरेर हिरा र हिरा जस्तै पार्टी निर्माणमा योगदान गरेका युवाहरुलाई अगाडि बढाउने अपेक्षा कार्यकर्ताहरुले लिएका छन् ।

  • २०८२ पुष १, मंगलवार