• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बरेङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण शुरु

बागलुङ । संघीयतापछि स्थापना भएको बागलुङको बरेङ गाउँपालिकाले प्रशासकीय भवन निर्माण कार्य थालिएको छ । बागलुङको दक्षिण क्षेत्रको बरेङ गाउँपालिकाले पालिका स्थापनाको नौ वर्षपछि आफ्नै प्रशासकीय भवन निर्माण थालेको छ । २०७३ सालमा स्थापना भएको गाउँपालिकाले बल्ल जग्गा व्यवस्थापन सहित आफ्नै सिंहदरबार निर्माण थालेको हो ।

दई तले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य थालिएको बरेङ गाउँपालिकाले जनाएको छ । रु. ४ करोड ३४ लाख ३८ हजार लागतमा निर्माण हुने प्रशासकीय भवन प्रतिक्षा केएनएस जेभीसंग सम्झौता गरेर निर्माण थालिएको हो । दुई रोपनी जग्गाभित्र निर्माण हुने दुई तले भवनमा सभाहल सहित २२ कोठा रहने गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

साँघुरो वडा कार्यालय संगै केही भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले केही वर्षमै आफ्नै सुविधा सम्पन्न भवन पाउने छ । गाउँपालिका र निर्माण कम्पनीबिच भएको सम्झौताअनुसार निर्माण व्यवसायीले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने अध्यक्ष शर्माले जानकारी दिनुभयो । भवन निर्माणका लागि प्रदेश सरकारको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत बजेट साझेदारीमा सम्पन्न हुनेछ । गाउँपालिकाको भवन निर्माणका लागि जग्गा विवादित हुँदा भवन निर्माणमा नौ वर्ष लागेको हो ।