• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

एमाले महाधिवेशन विशेष : बागलुङकी सावित्रा दुवै प्यानलमा

 बागलुङ ।  नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान भैरहेको छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लाइनमै छन् । अपरान्ह ५ बजेभित्र निर्वाचनस्थलमा प्रवेश गरिसक्न निर्वाचन समितिले प्रतिनिधिहरुलाई सूचना गरेको छ ।

निर्वाचनबाट नेतृत्व लिनका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धामा छन् । ओली र पोखरेलका प्यानलमा पर्नेहरुले व्यक्तिगत रुपमा आफुलाई र आफ्नो प्यानललाई मत मागि रहेकै छन् । दुइ प्यानल भएर निर्वाचनमा प्रतिस्पर्धा गर्दा एमालेका नेताहरु दुवै प्यानलमा नाम राखेर प्रतिस्पर्धा गर्ने गर्दछन् । यसपटक पनि करिव ५० जना दोहोरो लिष्टमा रहेको समाचार बाहिरएका छन् ।

बागलुङकी नेतृ सावित्रा रानाको पनि दुवै प्यानलमा नाम समावेश रहेको छ । आदिवासी जनजाती महिलातर्फ उमेदवार रहेकी रानाको नाम ओली र पोखरेल दुवै समुहमा रहेको छ । राना चितवनमा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुभएको थियो । दोस्रो कार्यकालका लागि ओली समुहबाट उमेदवार भएकी रानाको अन्तिम समयमा पोखरेल समुहबाट पनि प्यानलमा नाम समावेश छ । म्याग्दीका हरिकृष्ण श्रेष्ठ र नरदेवी पुन तथा पर्वतका कल्पना चापागाईको पनि दुवै समुहको प्यानलमा नाम छ ।

म्याग्दी नरदेवी पुनले बिहानै सामाजिक सञ्जालमा आफु ओली समुहकै भएको उल्लेख गर्नु भएको थियो । आफुलाई कमजोर बनाउन अर्को समुहले नाम राखेको उहाँको गुनासो छ । एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशनमा पनि बागलुङका धेरै नेताहरु दुवै समुहको प्यानलमा परेर राम्रो मतका साथ विजयी भएका थिए । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समुहबीच प्यानलगत प्रतिस्पर्धा भएको थियो । अध्यक्षमा गुरुङ समुहका नवराज शर्मासंग अधिकारी समुहका मायानाथ अधिकारी पराजित हुनु भएको थियो ।