बागलुङ । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रणको काम थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले दक्षिण बागलुङका दुई सडकनै बगाएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको कालीगण्डकी करिडोर बागलुङ–कुश्मिसेरा बागलुङ सडकको दीगो समाधानका लागि तीन करोड खर्चेर पहिरो नियन्त्रण गरिने भएको छ ।
हिउँदमा जसो तसो चल्ने सवारीसाधान बर्खामा पर्वत घुमेर आउनुपर्ने बाध्यताको अन्त्यकालागि संघीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. तीन करोड रकमले पहिरो नियन्त्रणको काम थालिएको हो । पहिरो नियन्त्रणका लागि रु. १८ करोड खर्च लाग्ने लागत अनुमान गरिएकोमा बहुवर्षीय योजनामा समावेश गरी नियन्त्रणको काम थालिएको छ ।ठेक्का खोल्नु पूर्व अध्ययनको टोली समेत फर्किएको बताउदै चालु वर्षमा पहिरोको मुख्य समस्यालाई समाधानको प्रयास गरिने सिँचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना कास्कीका डिभिजन प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिनुभयो ।
पहिरो थप बग्न नदिन पानी तर्काउने, भकुण्डेको द्वारा, गलुवाहुँदै आउने पानीलाई दिगो रुपमा तर्काउने योजना रहेको छ । पहिरो नियन्त्रण पूर्ण आयोजना प्रमुख सहित गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदी र प्राविधिक तथा कन्सल्टेन्ट टोलीले दब्ल्याङ पहिरो र पहिरोदेखि माथिल्लो भागको स्थलगत अवलोकन सम्पन्न गरेकाले पहिरो नियन्त्रणको काम थालिएको श्रेष्ठले जानकारी दिनुभयो ।
“पहिलो चरणमा माथिबाट बग्ने पानी व्यवस्थापन गरेपछि सडक बनाउनुपर्ने प्राविधिक प्रतिवेदनमा उल्लेख अनुसार काम हुन्छ, चालु वर्षको तीन करोड बजेटले नियन्त्रण व्यवस्थापन र संरक्षणको काम गर्ने हो” श्रेष्ठले भन्नुभयो पहिरो माथीको पानी व्यवस्थापन गरेर नजिकैको नेवारे खोला हुँदै काठेखोलामा खसाउने काम हुन्छ, यस अगाडी नै यस क्षेत्रमा सडक पु¥याउने र कच्ची नाली बनि सकेको छ पानी पन्छाउदा साथ परिहो रोकिन्छ र संरक्षण सहितको दीगो व्यवस्थापन हुन्छ ।”
श्रेष्ठका अनुसार यस वर्ष पहिरोको पानी तर्काउने काम संगै पहिरो क्षेत्रमा बायो ईन्जिनियरिङ प्रविधिको प्रयोगबाट नियन्त्रणको प्रयास हुनेछ ।
पहिरो व्यवस्थापनका निम्ती दुई वर्ष पहिले गण्डकी प्रदेश सरकारको सहयोगमा अध्ययन सम्पन्न पश्चात डिपिआर बनाइएको थियो । गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले दक्षिण बागलुङको लाइफलाइनमा भएको ठूलो पहिरो नियन्त्रण संगै बिकल्पमा गण्डकी प्रदेश सरकारले कालीगण्डकी नदीमा पक्की पुल बनाउने काम थालेको बताउनुभयो । पहिरो नियन्त्रणका लागि पटक–पटक भएका प्रयास असफल भएपछि दीगो व्यवस्थापनको काम थालिएको हो । पहिरो हटाउन र व्यवस्थापनका निम्ती पुर्वाधार विकास कार्यालय र बागलुङ नगरपालिकाले गरेको लाखौं रकम खेर गएपछि दीगो समाधानका लागि लागिएको हो ।