• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

महिला हित सहकारीको अध्यक्षमा पुनः लिला खड्का

 बागलुङ ।  महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको २४ औं वार्षिक साधारणसभाले लिलादेवी खड्कालाई पुन अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा विद्या खड्का, सचिवमा पम्फा किसान र कोषाध्यक्षमा विष्णु खत्री सर्वसम्मत चयन हुनु भएको छ । समितिका सदस्यहरुमा अम्बिका खड्का, कमला खड्का, सरिता रायमाझी, लक्ष्मी किसान र सुभद्रा गौतम चयन हुनु भएको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा सावित्री केसी तथा सदस्यहरुमा नानुमाया शाक्य र शान्ति अधिकारी गौतम चयन भएको निर्वाचन उपसमितिका संयोजक लक्ष्मी जिसी कार्कीले जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटन संस्थाका पूर्व अध्यक्ष खड्क कुमारी खड्काले गर्नुभएको थियो । महिला हित सहकारी संस्था स्थापनाकालका संघर्षपूर्ण दिनका बारेमा उहाँले जानकारी गराउनु भएको थियो । आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिलाहरुलाई संस्थागत रुपमा साथ सहयोग दिनका लागि महिला हित संरक्षण समुह गठन गरेका थियौ, पूर्व अध्यक्ष खड्काले भन्नुभयो,– ‘समुहलाई सहकारी बनाउन गरेको सहमति अहिले २५ वर्ष पुगेको देखेर हामी आफै दंग छौ ।’

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका पूर्व अध्यक्ष राम बहादुर जिसीले सहकारीको साधारणसभा, सदस्यहरुको भूमिका, सहकारीको समसायिक अवस्था, सहकारीमा शेयर, वचत र ऋणको अवस्था लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

सहकारी सदस्यहरुको सक्रिय सहभागिता र नियन्त्रणबाट चल्ने भएकाले साधारणसभालाई सदस्यका विचार तथा भावनाहरु सुन्ने सभाका रुपमा अगाडि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । संस्थाका सल्लाहकारहरु लक्ष्मी बाँस्कोटा, सकुन्तला शर्मा र शान्ति गौतम ज्ञवाली, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, मानवसेवा आश्रम बागलुङका सञ्चालिका विपना तामाङ लगायतले महिला हित सहकारीले समुदायमा महिलाहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणमा खेलेको भूमिका प्रसशनीय रहेको बताउनु भएको थियो ।

संस्थाका अध्यक्ष लिलादेवी खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सावित्री केसी र स्वागत कोषाध्यक्ष पम्फा किसानले गर्नु भएको थियो । संस्थाको साधारणसभामा सचिव केसीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष किसानले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक रिता खड्काले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साधारणसभामा प्रस्तुत सबै प्रतिवेदनहरु सर्वसम्मत पारित भएको नव निर्वाचित लेखा सुपरीवेक्षण समितिका संयोजक सावित्री केसीले जानकारी दिनुभयो । २५ वर्ष पहिला २५ जना महिलाहरु मिलेर जम्मा गरेको ११ हजार ४०० शेयर रकमबाट शुरु भएको महिला हित सहकारी संस्थामा यतिबेला १ हजार ३३३ जना शेयर सदस्य र करिव ३ करोड शेयर पूँजि रहेको छ । शुरुवात गर्दा २५ जनाको ९० हजार ९०० रुपैयाबाट वचत कारोबार शुरु गरेको संस्थामा गत असार मसान्तसम्म १० करोड ५३ लाख वचत रहेको छ ।

संस्था शुरुवात गरेको आर्थिक वर्ष भरीमा १ लाख ८८ हजार ऋण लगानी गरेको संस्थाले पछिल्लो आर्थिक वर्षमा १० करोड ७१ लाख ऋण लगानी गरेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाले २८ वटा कार्यविधिमार्फत संस्थागत गतिविधि सञ्चालन गर्दै आएको साधारणसभामा जानकारी गराइएको थियो । साधारणसभामा संस्थासंग उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु लगायत जेष्ठ शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।