• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

बागलुङका गाउँ गाउँमा संगठन निर्माणमा आक्रामक बन्दै रास्वपा

बागलुङ । २०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा संसदको चौथो ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले यतिबेला गाउँ गाउँमा संगठन विस्तार अभियान सञ्चालन गरेको छ । पार्टी स्थापना भएको ६ महिना नपुग्दै संसदमा उल्लेख्य उपस्थिति र आक्रामक प्रस्तुती दिन सफल राष्ट्रिय स्वतन्त्र पार्टी आगामी निर्वाचनबाट सरकार बनाउने हैसियतको पार्टी बनाउने लक्ष्यका साथ संगठन निर्माण अभियानमा लागेको रास्वपाले जनाएको छ ।

आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार सञ्चालन गर्ने गरी बहुमत र परिवर्तन चाहने नयाँ शक्तिहरुलाई संविधान संशोधन गर्ने गरी दुइ तिहाइ मत दिन नेपाली मतदातालाई आव्हान गरिएको रास्वपाका केन्द्रीय उपसभापति डा.स्वर्णीय वाग्लेले बताउनुभयो । पार्टीले फागुन २१ को निर्वाचनलाई केन्द्रीत गरेर सम्पूर्ण नेता कार्यकर्तालाई गाउँ गाउँमा पुगेर मतदातालाई एक पटक रास्वपालाई मत दिन आव्हान गर्ने गरी अभियान सञ्चालन गरिएको वाग्लेले बताउनु भएको छ । यसैक्रममा रास्वपा बागलुङले जिल्लाको दक्षिण भेग जैदी र छिस्तीमा वडा अधिवेशन सम्पन्न गरेको छ ।

शनिवार सम्पन्न वडा अधिवेशनले जैमिनी नगरपालिका वडा नं. ७ जैदीमा लोकराज शर्मा सभापति रहेको वडा समिति गठन गरेको छ । समितिको उपसभापतिमा सुशिल नेपाली, सचिवमा दुर बहादुर नेपाली तथा सदस्यहरुमा मेघनाथ नेपाली, लछुमन सार्की, होमनाथ पौडेल, कोकिल गिरी, भेदलाल गिरी र शिवु गिरी रहनु भएको छ । वडा अधिवेशनले हिरामणी शर्मा र एक नारायण वि.कलाई सल्लाहकार चयन गरेको छ ।

यस्तै शनिवार नै जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीमा विष्णु पुन सभापति रहेको वडा समिति गठन भएको छ । समितिको उपसभापतिमा कमला केसी, सचिवमा उपेन्द्र शर्मा र कोषाध्यक्षमा दुर्गा शर्मा चयन हुनु भएको छ । समितिका सदस्यहरुमा शोभा नेपाली, गोविन्द नेपाली, हेम बहादुर नेपाली, गौमाया सुनार, विष्णु सुनार र लोक बहादुर क्षेत्री रहेको रास्वपा जैमिनीका सभापति आचार्यले जानकारी दिनुभयो । जैमिनी नगरपालिकाका सबै वडामा वडा अधिवेशन सम्पन्न गर्ने, चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रम सञ्चालन गरिएको रास्वपा जैमिनीका सभापति राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

पञ्चायत कालदेखि संगठन विस्तार अभियान सञ्चालन गरेका, पटक पटक जिल्ला तथा केन्द्रको सत्तामा पुगेका बामपन्थी दलहरुको अझै सबै वडाहरुमा संगठन क्रियाशिल बनेको अवस्था देखिदैन, भर्खर स्थापना भएको रास्वपाको संगठन विस्तार अभियान हेर्दा निकै नै द्रुत गतिमा रहेको जैमिनीका पुराना कम्युनिष्ट कार्यकर्ताहरुले बताएका छन् । हामी लामो समय सत्ता परिवर्तनका लागि कम्युनिष्ट पार्टीमा लाग्यौ, राष्ट्रिय जनमोर्चा समर्थित एक कार्यकर्ताले भने, हाम्रो पार्टीको संसदमा एक सिट थियो, प्रदेशमा त्यो पनि छैन, तर रास्वपाले स्थापनाको ६ महिनामा नै २१ सिट सहित संसदमा उपस्थिती मात्रै जनाएनन्, शसक्त प्रतिपक्षका रुपमा समेत देखियो । उनले जनताले प्रतिपक्षमा बस्न दिएको अभिमत विपरित सत्ताको लोभ गरेका कारण रास्वपालाई पनि जनताले पुरानै दलहरु जस्तै हुने हो कि ? भन्ने आशंका गरेको बताउनुभयो ।