बागलुङ । नेकपा एमालेको ११ औं महाधिवेशनमा सचिव पदका उमेदवार इन्द्रलाल सापकोटाले आफुहरुले उठाएको रुपान्तरणको एजेण्डालाई पार्टी भित्रै विधिसम्मत रुपमा निरन्तर उठाउने बताउनु भएको छ । महाधिवेशनमा इश्वर पोखरेल समुहबाछ सचिव पदका प्रत्यासी रहेका सापकोटाले सोमबार बिहान बागलुङका पत्रकारहरुसंग संक्षिप्त कुराकानीका क्रममा रुपान्तरणको एजेण्डा निरन्तर अगाडि बढाउने बताउनु भएको हो ।
हामीले राजनीतिक दलहरुमा रुपान्तरण, पुस्तान्तरण र परिवर्तनको माग गरेका हौ, एमालेको महाधिवेशनले हाम्रो एजेण्डालाई स्वीकार गरेन, महाधिवेशनले अस्वीकार गरे पनि त्यो एजेण्डा नेपाली जनताको बीचमा पराजित हुन्छ भन्ने हामीलाई लागेको छैन, सापकोटाले भन्नुभयो,–‘जनताको चाहना अनुसार अगाडि बढ्नका लागि पार्टीहरुमा रुपान्तरण आवश्यक छ, भन्ने कुरा हामीले निरन्तर उठाउछौ, अगाडि बढाउछौ ।’ पार्टी कार्यकर्ताहरुबाट अनुमोदित हुने र आम जनताबाट अनुमोदित हुने कुरालाई फरक फरक तरिकाले नहेर्न आग्रह गर्दै उहाँले आगामी निर्वाचनमा जनताबाट अनुमोदन हुनका लागि हामीले विगतमा गरेका कमी कमजोरीको वस्तुनिष्ठ समिक्षा, सुधारका योजना र रुपान्तरणको प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो । एमालेमा प्रतिस्पर्धा गर्ने अनि पराजित भएपछि पार्टी विभाजन गर्ने, अर्को पार्टीमा जाने लगायतका रोगहरु रहेको प्रसंगमा सापकोटाले सधै, सबैलाई एउटै तरिकाले नहेर्न, विश्लेषण नगर्न सुझाव दिनुभयो ।
यसपटक पार्टीको मुल नेतृत्वसंग प्रतिस्पर्धा गर्ने आट कसैले गर्नै सक्दैनन्, बोल्नै सक्दैनन् भन्ने अवस्थामा स्वस्थ रुपमा प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना भएको छ, यसले जनताको बहुदलीय जनवादको मर्म र भावनालाई एक कदम अगाडि बढाएको छ, सापकोटाको भनाइ छ । एमाले हामी जस्ता लाखौ नेता कार्यकर्ताको रगत पसिनाबाट बनेको पार्टी हो, म बिना पार्टी चल्दैन, तिमीहरुको काम छैन, कसैले छोडेर जान्छन्, जा भन्दैमा हामी बाहिर जान्छौ भन्ने कल्पना नगर्दा हुन्छ, हामी पार्टी भित्रै बस्छौ, पार्टी नेतृत्वले अगाडि बढाउने सही काममा प्रतिवद्धताका साथ लाग्छौ, सापकोटाले भन्नुभयो, –‘यसको अर्थ पार्टी भित्रका गलत प्रवृतिहरुलाई टुलुटुलु हेरेर बस्ने, जे गर्दा पनि हस् हजुर भन्ने अवस्था पनि रहदैन, यति कुरा बुझि राख्दा हुन्छ ।’ जनताले रुपान्तरण चाहेका छन्, जनताले परिवर्तन चाहेका छन्, पुराना दलहरुले यसलाई समयमा नबुझ्ने हो भने पछि पछुताउनुको विकल्प नहुने समेत सापकोटाको भनाइ छ ।
चुनावमा प्राविधिक रुपमा हारे पनि राजनीतिक रुपमा थप क्रियाशिल भएर जनताका बीचमा जाने प्रतिवद्धता सापकोटाले व्यक्त गर्नु भएको छ । सचिव पदमा उमेदवार बनेका सापकोटाले चुनावी अभियानमा साथ सहयोग दिने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
गण्डकी प्रदेशबाट एमालेको ११ औं महाधिवेशनमा केपी ओली शर्मा ओली समुहबाट उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ तथा सचिवमा पद्मा अर्याल र खगराज अधिकारी विजयी हुदा इश्वर पोखरेल समुहबाट सचिव पदका प्रत्यासी सापकोटा पराजित हुनु भएको थियो । नवौ महाधिवेशनबाट केन्द्रीय सदस्य भएका सापकोटा बागलुङ जिल्ला कमिटिको २ पटक अध्यक्ष, युवा संघ नेपालको महासचिव भएर पार्टी नेतृत्व गर्नुका साथै गण्डकी प्रदेशसभाको सदस्य भएर ५ वर्ष काम गर्नु भएको थियो ।