बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङका नवनियुक्त व्यवस्थापन समितिको अध्यक्ष श्रीप्रसाद शर्माले सोमबार पदभार ग्रहण गर्नुभएको छ ।
सोमबार आयोजना गरिएको एक कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले नवनियुक्त अध्यक्ष शर्मालाई पदभार गराउनुभएको थियो ।
पदभार कार्यक्रमपछि बोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा गण्डकीले फड्को मारेको बताउदै अस्पतालको विकासमा अध्यक्षको भूमिका उल्लेख्य रहेको बताउनुभएको छ । मन्त्री पाठकले कर्मचारीहरु तानाबाना नबुनेर काममा खट्न आग्रह गर्नुभयो । उहाँले कर्मचारी, चिकित्सक र व्यवस्थापन समिति मिलेर अस्पताललाई अगाढी बढाउन अनुरोध गर्नुभयो ।

पदभार ग्रहणपछि बोल्दै अध्यक्ष श्री प्रसाद शर्माले अस्पतालको सुधारका लागि सबैसंग सहकार्य गरेर अस्पताल सुधारमा अघि बढ्ने बताउनुभयो । “अस्पतालले गरेको सेवालाई आम जनमानसमा पु¥याउन आवश्यक छ, कतिपय अस्पतालका राम्रा काम जनतामा पुगेका छैनन्, पत्रकार साथीहरुले सकरात्मक कामलाई बाहिर ल्याउन प¥यो” शर्माले भन्नुभयो “अस्पातलको गुणस्तरीय सेवा पहिलो प्राथमिकतामा राखेर कसैपति बायस नभई काम गर्छु ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, अस्पतालका पूर्व अध्यक्ष डा. कृष्ण बहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र मेडिकल सुपरीटेन्डेण्ट डा. किरण तिवारीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम नवनियुक्त श्रीप्रसाद शर्माको अध्यक्षता तथा नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । गण्डकी प्रदेशको मन्त्रीपरिषद्को मंसिर २३ गतेको निर्णय अनुसार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा शर्मालाई नियुक्त गरेको थियो ।
