• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

महोत्सवमा स्टार्टप पिचिङ प्रतियोगिता, तीन व्यवसाय उत्कृष्ट

  • २०८२ पुष १४, सोमबार

बागलुङ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका विहानी सापकोटाले महिनावारीको समयमा प्रयोग गरिने सेनेटरी प्याडको बागलुङमै व्यवसायिक उत्पादन गर्न सकिने संभावना रहेको योजना सुनाउनुभयो ।
उहाँले बागलुङमा जारी आठौं बागलुङ महोत्सवमा आफ्नो व्यावसायिक योजना सुनाउदै भन्नुभयो “सुरक्षित र सजिलो सेनेटरी प्याड बागलुुङमै उत्पादन गर्न सकिन्छ, न्यूनतम बजेटमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आवश्यक छ ।”

युवाको नविनतम योजनाका आधारमा युवा पलायन रोक्नका लागि महोत्सवमा पृथक कार्यक्रम ल्याइएको थियो । १४ जनाले सुनाएको व्यावसायिक योजना मध्ये सापकोटाको प्याड उत्पादन उद्योगको योजना उत्कृष्ट तीनमा पर्न सफल भएको थियो ।  व्यावसायिक योजना निर्माण गर्न सिकाउने उद्देश्यले जारी महोत्सवमा स्टार्टप पिचिङ प्रतियोगितामा राखिएको थियो । १४ युवा युवतीले सुनाएको व्यवसायिक योजनामा तीन वटा उतकृष्ट योजना भएका थिए । अर्का व्यावसायिक योजनाकार रामरेखाका जल्पा केसीले ‘पेट हाउस’सञ्चालन सम्बन्धी व्यावसायिक योजना सुनाउनु भएको थियो ।

उहाँले बागलुङ बजारमा एक हजार ४०० सय भन्दा बढी घरपालुवा कुकुर रहेको र उनिहरुको हेरचाह, स्वास्थ्यसँगै सडक कुकुरको व्यवस्थापन सम्बन्धी सजिलो र सहज योजनाको बारेमा जानकारी गराउनु भएको थियो । यस्तै म्याग्दीका करुणा सापकोटाले कागतीको अमिलोबाट विभिन्न जुस, अचार र नयाँ–नयाँ परिकार बनाउने सम्बन्धी योजना सुनाउनु भएको थियो । आयोजकले उत्कृष्ट यी तीन योजनालाई जनही रु.१० हजारका दरले सम्मानित गरेको छ । उनिहरुले सुनाएका योजना खरिद समेत गर्न सकिने कार्यक्रम संयोजक महतोले जानकारी दिनुभयो ।

कार्यक्रमा ३ युवा र ११ जना युवती गरि १४ जनाको सहभागिता रहेको थियो । सहभागिले केही नयाँ र केही पुरानै व्यवसायका योजनालाई कसरी नयाँ तरिकाले सञ्चालन गर्न सकिन्छ भनेर योजना सुनाएको कार्यक्रम संयोजकक गणेश महतोले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीले स्पा(मसाज) सेन्टर, गुडिया बनाउनेसँगै होम स्टे सञ्चालन सम्बन्धी योजना सुनाएका थिए ।

उत्कृष्ट योजनालाई नगद सहित सम्मान गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुुमार श्रेष्ठले व्यापार व्यवसायमा नविनतम योजनाको खोज सधैँ गरि रहनु पर्ने भन्दै युवा उमेरमै उद्यमी बन्ने सोच राख्नु आत्मनिर्भरताको आधार भएको बताउनु भएको थियो । उहाँले आजभोली युवाहरुमा कि विदेश कि अरुको जागिर खाने सोच मात्र रहेको भन्दै आफै उद्यमी हुने सोच राखेर अगाडी बढनु पर्ने बताउनु भएको थियो ।

प्रतियोगितामा  बागलुङ उद्योग वाणिज्य संघका पूर्व ध्रुव गौतम, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम र बागलुङका वरिष्ठ उपाध्यक्ष ऋषि गौतम निर्णयकको भूमिकामा रहेको कार्यक्रम संयोजक महतोले जानकारी दिनुभयो ।

  • २०८२ पुष १४, सोमबार