बागलुङ । धौलागिरी प्रादेशकि अस्पतालमा एसइई पछिको तीन वर्षे नर्सिङ पढाइको तयारी थालिएको छ । अस्पतालमा पढाईका लागि छुट्टै प्रयोगशाला बनाइने छ । गण्डकी प्रदेश सरकारले बागलुङको धौलागिरी अस्पतालमा चालु आर्थिक वर्षबाट नर्सिङ पढाई गर्ने नीति तथा कार्यक्रम ल्याएको थियो ।
चालु आर्थिक वर्षमा नर्सिङ पढाइका लागि आवश्यक प्रयोगशाला सहितको अन्य पूर्वाधार निर्माण गर्नका लागि रु. ७० लाख बजेट समेत विनियोजन भएको स्वास्थ्यमन्त्रालय गण्डकी प्रदेशले जनाएको छ । यो वर्षमा नर्सिङको भर्ना प्रकृया सकिएकाले पूर्वाधार तयार गरेर आगमी वर्ष विद्यार्थी भर्ना गर्ने तयारीका लागि बजेट पठाइएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले जानकारी दिनुभयो । पढाईका लागि कक्षाकोठा र प्रयोशाला लगायतको व्यवस्थापन भने चालु आर्थिक वर्षमै सकिनेछ ।
गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी तीन वर्षे नर्सिङ कोर्षको पढाइ हुनेगरी आवश्यक तयारी थालिएको हो । प्रदेश मातहतका अस्पताल तथा वर्थिङ सेन्टरमा तालिम प्राप्त मिडवाईफ मार्फत सेवा प्रवाहको सुनिश्चतताका लागि आगामी आवदेखि प्रविणता प्रमाणपत्र तहको ‘मिडवाईफरी शैक्षिक कार्यक्रम’ धौलागिरि अस्पतालमा अध्यापन सुरु गरिने र त्यसका लागि चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणमा जुटेको धौलागिरी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले जानकारी दिनुभयो ।
धौलागिरि अस्पताललाई प्रदेश सरकारले नर्सीङ पढाइको तयारीका लागि सय शैयामा सडक स्तरोन्नती गरी नीतिगत रुपमा पढाउनेगरी बाटो खुलेको थियो । यस अघि अस्पताल जम्मा ५० शैयाको मात्रै थियो ।
प्रदेश सरकारले स्वास्थ्य सेवाका लागि अस्पतालमा ठूलो लगानी गरिरहेको बताउदै अस्पतालमा सिटिस्क्यान सहितको विशेषज्ञ सेवा दिइरहेको डा. तिवारीले जानकारी दिनुभयो । गर्भवती महिला, सुत्केरी तथा शिशु स्याहारसम्बन्धी पढाइका लागि प्रदेशको बजेट तथा कार्यक्रममा समावेश गरिएकाले आगामी आवदेखि पढाइ सञ्चालनको तयारी भइरहेको छ ।
“यो एसइई दिएपछि पढ्न पाइने तीन वर्षे नर्सिङ कोर्ष हो, यसमा गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी मात्रै अध्ययन हुन्छ”, उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमै भर्ना अघि बढाउने भनिएपनि जेन्जी आन्दोलन लगायतका कारण समस्या भएको थियो, यो वर्ष पूर्वाधार तयारी गछौं, अर्को वर्ष भर्ना खोल्निछ ।” नर्सीङ विषय अध्यापनका लागि एक सय शैयाको अस्पताल र वार्षिक एक हजार दुई सय सुत्केरी अस्पतालमा हुनुपर्ने मापदण्ड पुगेकाले नर्सीङको पढाईको तयारी थालिएको हो । बागलुङमा स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताउदै गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले बागलुङका तीन अस्पतालको स्तरोन्नती एकसाथ भएको बतानुभयो । धौलागिरि अस्पताल सय शैयाको नहुँदा नर्सीङ पढाउन समस्या भएकाले स्तरोन्नती पश्चात नर्सीङ पढाईको बाटो गत वर्षदेखि खुलेको थियो । ५० शैयाको धौलागिरी प्रादेशिक अस्पताललाई प्रदेश मातहतको १०० शैया, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको बुर्तिबाङ प्रदेश अस्पताल, धौलागिरी आयुर्वेद अस्पताल बागलुङलाई २५ शैयाको अस्पतालमा स्तरोन्नती गरेको बताउनुभयो ।