• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

काठेखोलाको रेशमा सार्वजनिक सुनुवाई सम्पन्न

  • २०८२ पुष २०, आईतवार

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम काठेखोला गाउँपालिका–७ रेशमा सम्पन्न गरेको छ ।
गाउँपालिकाको आयोजना तथा लेखन नेपाल मिडिया प्रालीको सहजीकरणमा चालु आर्थिक वर्ष २०८२÷०८३ को प्रथम चौमासिकमा गरेका सेवा प्रवाह, विकास निर्माण र सम्पादित कामका बारेमा सार्वजनिक सुनुवाई गरेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले सिँचाई कुलो, प्रशासकीय भवन निर्माण कहिले, रेशमा आधारभूत अस्पताल सञ्चालन लगायतको विषयमा जिज्ञासा राखेका थिए । रेशमा पहिलोपटक सडक कालोपत्र गर्न थालिएकोमा भने स्थानीयले प्रशंसा गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु थापाले गाउँपालिकाको भवन शिलान्यास गरिने भन्दै रेशको नयाँ भवनबाट छिट्टै स्वास्थ्य सेवा थालिने बताउनुभयो ।

उहाँले सडक, खानेपानी, कृषि, पर्यटन र पशुपालन लगायतका क्षेत्रमा गाउँपालिकाले काम गर्दै आएको उहाँको भनाइ छ । थापाले संघीय सरकारले बजेट काटेकाले स्वास्थ्य बीमा कार्यक्रमको भुक्तानी गर्न नसकेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापाले गाउँपालिकाको योजनालाई समयमै सम्पन्न गर्नका लागि योजना अनुगमनलाई प्रभावकारी बनाइएको बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म काठेखोला गाउँपालिकामा १०२ योजना सम्झौता गरेर ८ वटा फरफारक गरिएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ती पौडेलले जानकारी दिनुभयो । उहाँले रु.५९ करोड बजेटमा रु.१२ करोड ५५ लाख खर्च भइसकेको बताउदै २१ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिनुभयो ।

रेशको खेल मैदान प्राथमिकतामा नपरेको, सुशासनमा कमजोर नतिजा आएको, झोलुङ्गे पुल मर्मतमा ध्यान नदिएको र उत्पादनका आधारमा कृषिका कार्यक्रम नल्याएको जस्ता प्रश्न नागरिकले गरेका थिए ।

कार्यक्रममा स्थानीय डिल बहादुर कार्की, प्रेम बहादुर कार्की, कृष्ण बहादुर थापा, श्याम प्रसाद गौतम र कृष्ण के.सीले जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतमले सन्तुष्टी सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सार्वजनिक सुनवाई कार्यक्रमको पत्रकार विजय रानाले सहजीकरण गर्नुभएको थियो भने पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सृजना पन्तले टिप्पणी तथा पत्रकार नवराज परियारले आचार संहिता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • २०८२ पुष २०, आईतवार