बागलुङ । नेकपा एमालेले बागलुुङ क्षेत्र नं. १ बाट आफ्नो नाम सिफारिस नभएको भन्दै एमाले नेता श्रीप्रसाद शर्माले असहमति जनाउनु भएको छ । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटि, प्रतिनिधि सभा क्षेत्र नं. १ ले सर्वसम्मत रुपमा केन्द्रीय सदस्य मन कुमारी केसी जिसी, निवर्तमान केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा र जिल्ला अध्यक्ष हिरा बहादुर केसीको नाम आइतवार सिफारिस गरेको थियो । सर्वसम्मत सिफारिस गएको विषयमा पूर्व जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले असहमति व्यक्त गर्दै क्षेत्रीय संयोजक धन बहादुर परियारलाई पत्र बुझाउनु भएको छ ।
एमाले केन्द्रीय कार्यालय, गण्डकी प्रदेश कमिटि र जिल्ला कमिटि बागलुङलाई वोधार्थ दिदै पूर्व जिल्ला अध्यक्ष शर्माले निर्वाचन नगरेर सर्वसम्मत गरेको विषयमा असन्तुष्टी व्यक्त गर्नु भएको छ । पुस १८ गते शुक्रवार क्षेत्रीय समन्वय कमिटि, प्रतिनिधि सभा क्षेत्र नं. १ को वैठकमा शर्मा सहित ८ जनाले उमेदवारका लागि दावी प्रस्तुत गर्नु भएको थियो । ८ जनाबाट सकेसम्म एकल उमेदवार सिफारिस गर्ने, त्यसो पनि भएन भने एक महिला सहित ३ जनालाई सिफारिस गर्नका लागि वैठकले क्षेत्रीय समन्वय कमिटिका संयोजक धन बहादुर परियारको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा क्षेत्र नं. १ अन्तरगतका ४ वटा पालिका कमिटिका अध्यक्ष र जिल्ला कार्यालयका सचिव सदस्य रहेका थिए ।
६ सदस्यीय कार्यदलले उमेदवारका लागि दावी गरेकासंग पटक पटक छलफल गरेर निष्कर्ष निकालेको कार्यदल स्रोतले जनाएको छ । कार्यदलमा उमेदवार छनोटको विषयमा छलफल हुदा श्रीप्रसाद शर्मा सहितका दावेदारहरुले सहमतिको वाधक नबन्ने बताएका थिए । दावी गरेका मध्ये केन्द्रीय सदस्य डा.सूर्य पाठक हाल जापानमा रहनु भएको छ । उहाँले जापानबाटै संयोजक परियारलाई पत्र पठाएर आफ्नो दावी प्रस्तुत गर्नु भएको थियो । सूर्य पाठकका भौतिक रुपमा उपस्थित नभएका कारण उहाँसंग फोनमार्फत कुरा भयो, अन्य दावेदारहरुसंग प्रत्यक्ष कुरा भएको छ, सबै दावेदारहरुले शुरुदेखि नै सर्वसम्मत गर्ने कुरामा वाधन नबन्ने बताएको संयोजक परियारले जानकारी दिनुभयो । सर्वसम्मत गर्ने कुरामा म पर्दा सर्वसम्मत, नपर्दा असहमति भन्ने हुन्छ र ? उहाँले नै शुरुमा सर्वसम्मत नाम पठाउने विषयमा आफ्नो अहसमति नरहने बताउनु भएको थियो, निर्णय नहुदासम्म सहमति, निर्णय सार्वजनिक भइसकेपछि असहमति भन्ने आयो, यो विषयले कार्यदलको सर्वसम्मत निर्णयलाई चुनौती दिएको परियारको भनाइ छ । शर्मा हाल धौलागिरी धौलागिरी प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त हुन्न भएको छ ।