• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

सम्पादकीय : सकसमा कांग्रेस, यथास्थिति कि रुपान्तरण ?

  • २०८२ पुष २२, मंगलवार

मुलुकको मुख्य मूलधारको राजनीतिक पार्टी, जो सँग अहिले देशमा भएका सबै राजनीतिक पार्टीहरु भन्दा पुरानो, जेठो पार्टीको इतिहास र अनुभव छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र लगायतमा देशको बिभिन्न ऐतिहासिक, राजनीतिक परिवर्तनहरुमा नेतृत्वदायक भूमिका निर्वाह गरेको गर्विलो विगत छ । प्रजातन्त्रमा आस्थावान राख्ने पुराना पाका मान्छेहरु सहितको ठुलो जमात छ । तर, पछिल्लो समय भने नेपाली कांग्रेस आन्तरिक विवाद, देशमा भएका बदलावहरुलाई हेर्ने र निकास दिने सवालमा आफै बिलखबन्दमा देखिने गरेको छ । पछिल्लो जेनजी आन्दोलन, यस पश्चात पार्टीले खेल्ने भूमिका, पार्टी भित्रै रुपान्तरण खोज्ने र रोज्ने सवालमा पनि गम्भीर मतभेदहरु देखा परेका छन् । जसले नेपाली कांग्रेस पार्टी नै बिभाजनको अवस्थामा त पुग्दैन ? भन्ने संशय पैदा गरेको छ ।

नेपाली कांग्रेसमा अहिले महाधिवेशन कि विशेष महाधिवेशन भन्ने सवाल निकै पेचिलो बनेको छ । नेपाली कांग्रेसको संस्थापन पक्ष आगामी वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव गरिरहेको छ भने महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा लगायतको इतर पक्ष महाधिवेशनको समय र अवसर घर्किसकेको हुनाले विशेष महाधिवेशन गर्ने तयारीमा छन् । नेपाली कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरिसकेका छन् । विधानतः विशेष महाधिवेशनका लागि पेस भएको प्रस्तावको समयसीमा तीन महिना हुन्छ । २९ असोजमा विशेष महाधिवशेनको लागि प्रस्ताव दर्ता गरिएको हुँदा उक्त समयसीमा यही पुस २८ गते सकिँदैछ । समयसीमा भित्र विशेष महाधिवेशन गर्नका लागि २७ र २८ पुसको मिति तय गरिएको छ । देशभरका प्रतिनिनिधिहरूलाई काठमाडौं बोलाइएको छ । विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा हलको व्यवस्था पनि गरिएको छ । विशेष महाधिवेशन पक्षधरले काठमाडौं उपस्थित हुन आग्रह सहित ‘फोड्न हैन, दम्भ र अहंकार तोड्न, एक्लै चुनाव लड्न सक्ने गरी कांग्रेसलाई जोड्न’ भन्ने नारा सहित प्रचारलाई व्यापक बनाइरहेका छन् । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरूको संख्या २ हजार ४८८ छ । उक्त संख्या १४औं महाधिवेशनको बहुमत संख्या हो । विशेष महाधिवेशनको यस मागलाई संस्थापन पक्षले भने गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकले भने औचित्यहीन सावित गरिसकेको जिकिर गरिरहेको छ । १५ मंसिरमा केन्द्रीय समितिले नियमितको कार्यतालिका ल्याएको हुँदा विशेषको औचित्य समाप्त भएको कार्यसम्पादन समितिमा बहुमतले गरेको निर्णयमा भनिएको छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी त हो । तर, यस पार्टीमा पछिल्लो समय बिभिन्न गुट लगायतका कारण चरम विवाद र बेथिति देखा परिरहेको छ । अहिले अधिकांश पुराना नेताहरु सहितको संस्थापन पक्ष महाधिवेशनलाई कुनै पनि हालतमा पछाडि धकेलेर अहिलेको जेनजी आन्दोलनको भावना, मर्म र गतिलाई विस्तारै बिर्साउँदै पुनः पार्टी र राज्य सत्तामा पुग्नेमा केन्द्रित छन् भने गगन थापा लगायत जेजनी आन्दोलनको भावना, मर्म अनुसार देश र पार्टीलाई रुपान्तरण गर्न तर्फ अग्रसर छन् । यस विवाद उत्कर्ष पुग्दै गर्दा अब नेपाली कांग्रेस यथास्थितिमै बस्ने कि रुपान्तरण खोज्ने ? जरुर निर्णय गर्नुपर्ने बेला आएको छ । यसमा कांग्रेसका नेताहरुको त अग्नी परीक्षा हुने नै छ, यसमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुको राजनीतिक चेत र विवेकको पनि परीक्षा हुनेछ ।

 

  • २०८२ पुष २२, मंगलवार