बागलुङ । बागलुङको ढोरपाटनका नागरिकको एक्सरेद्वारा छातिरोगको खोजपड्ताल गरिएको छ ।
गण्डकी प्रदेश सरकारले प्रदेशका ग्रामीण भेगका नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर पछिल्लो समय गाउँ गाउँमै पुगेर नसर्ने रोगको खोजपड्ताल गरि रहेको छ ।
प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक खोजपड्ताल शिविर गर्दै आफै गाउँ गाउँ पुग्नु हुन्छ ।
प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशबाट चिकित्सक सहित पुग्ने प्राविधिक टोलिले गण्डकी प्रदेशका जिल्ला जिल्लामा पुगेर क्षयरोगको चेकजाँच गर्छ ।अघिल्लो वर्ष प्रदेशका ११ जिल्लाका विभिन्न क्षयरोग संवेदनशिल पालिकामा पुगेर ३२ हजार भन्दा बढी नागरिकको चेकजाँच गर्दा ४ सय ५२ जनालाई क्षयरोग संक्रमण देखिएको थियो ।
यो वर्ष पनि बागलुङसँगै तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा र नवलपुरका केही स्थानिय तहमा पुगेर शिविर सञ्चालन गरि सकिएको छ । सोही खोजपड्ताल शिविर अन्तर्गत शुक्रबार बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का नागरिकलाई लक्षित गरेर बोवाङ स्वास्थ्य चौकीमा क्षयरोगको खोजपड्ताल गरिएको छ ।
शिविरमा ३ सय ६५ जनाको चेकजाँच गरिएको प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशका ल्याव टेक्निसियन तथा ‘एक्सरेद्वारा छातिरोग सम्बन्धी खोजपड्ताल शिविर’ कार्यक्रमका फोकल पर्सन राजेन्द्र रानाभाटले जानकारी दिनुभयो ।
उहाँका अनुसार १२ जनामा क्षयरोगको संक्रमण देखिएको छ । उनिहरुलाई आजैबाट औषधी सेवन गराईएको उहाँले बताउनु भयो । चेकजाँच गरिएका मध्ये ३२ जनामा संक्रमणको लक्षण देखिएपछि थप चेकजाँचका लागि खकार संकलन गरिएको उहाँले बताउनु भयो ।
बिहीबार गलकोट नगरपालिकामा २ सय २४ जनाको चेकजाँच गर्दा ३ जनामा क्षयरोगको संक्रमण देखिएको छ । ११ जना संकास्पदको खकार परिक्षणका लागि संकलन गरिएको रानाभाटले जानकारी दिनुभयो ।
खोजपड्ताल शिविरको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री कृष्ण पाठकले नागरिकको स्वास्थ्य, स्वास्थ्य मन्त्रालय र आफ्नो प्रमुख प्राथमिकता भएको भन्दै नसर्ने रोगको निवारणका लागि गाउँ गाउँमै शिविर सञ्चालन गरिएको बताउनु भयो ।

स्वास्थ्य मन्त्रालयले अघिल्लो आर्थिक वर्षदेखिनै यो कार्यक्रम सुरु गरेको भन्दै उहाँले यसवर्ष पनि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउनु भयो ।
आर्थिक अभाव र सचेतना नभएका कारण दुर्गम गाउँका जनताले नसर्ने रोगको उपचार र निवारणका लागि ध्यान पु¥याउन नसकेको भन्दै स्वास्थ्यमन्त्री पाठकले स्वास्थ्य सचेतना प्रर्वद्धनसँगै रोग निवारणका लागि समेत शिविर सञ्चालन गरिएको बताउनु भयो । रोगको खोजपड्तालसँगै औषधी र उपचारमा समेत सरकार संवेदनशिल रहेको उहाँले बताउनु भयो ।
प्रादेशिक रोग नियन्त्रण केन्द्रले प्रत्येक जिल्लाका प्रदेश जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा शिविर सञ्चालन गर्छ । जिल्लामा क्षयरोगको जोखिम रहेका पालिका र वडाहरुको विवरण प्रदेश जनस्वास्थ्य कार्यालयसँगबाट लिएर शिविर सञ्चालन गर्ने गरिएको रानाभाटले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य दिलमाया पौवीले भेगका नागरिकमा सचेतना अभावका कारण सरकारले निःशुल्क अभियान चलाए पनि सबैलाई समेटन नसकिएको बताउनु भएको थियो ।
